काठमाडौं, असार ३० : रामबहादुर ढकाल (क्षत्री)ले कसिलोसँग बाटुली (सार्की) को हात समाए । बाटुलीको मन र तनमा बैँसको रंग चढ्दै थियो । रामबहादुरका प्रेम भरिएका आँखाअगाडि बाटुलीका आँखा झुके । बलिष्ठ पाखुराअगाडि बाटुलीका नाडी गले । जिस्कँदा जिस्कँदै उनीहरूबीच प्रेम पलाएको थियो । त्यो विवाहमा बदलियो । रामबहादुरले बाँचुञ्जेल बाटुलीको हात–साथ छाडेनन् । 

बाटुलीलाई भेट्नुअघि रामबहादुरले विवाह गरिसकेका थिए, तर श्रीमती माइतीमै बस्थिन् । बाटुली भन्छिन्, ‘यता हामीले बिहे गरेपछि उनले पनि बिहे गरेको खबर आयो ।’

करिब ५५ वर्षअघिको कथा हो यो । अरनिको राजमार्ग बन्दै थियो । पाँचखाल काभ्रेका रामबहादुर ढकाल त्यहाँ ठेक्कापट्टाको काम गर्थे, मण्डनदेउपुरकी बाटुलीले त्यहीँ मजदुरी गर्थिन् ।

जसरी रामबहादुर र बाटुली उन्मुक्त बैंसमा थिए, त्यसरी नै उनीहरूको प्रेम पनि उन्मुक्त थियो । त्यहाँ जातभात, समाज, वर्ग केही थिएन, केवल प्रेम थियो ।  

‘क्षत्री भएर पनि रामबहादुरले सर्किनी ल्यायो ?’ गाउँभरि हल्ला चल्यो, कुरा काटियो । उनको जात काढियो । जनै छिनियो । दाजुभाइ दाजुभाइ रहेनन् । तर, रामबहादुर र बाटुलीको प्रेम अनेक दुःखका बाबजुद रहिरह्यो, सम्झनामा रहिरहेछ, उनीहरूकै प्रेमको सृष्टि पनि चलिरहेछ । 

उनीहरूका दुई छोरा भए, दुवैले बाबुको थर (ढकाल) त पाए, जात पाएनन् । अचेल मानिसहरू भन्छन्– बिस्तारै समाज बदलिँदै छ, जातपात हट्दै छ । रामबहादुरले ५५ वर्षअघि प्रेम र विवाहमार्फत जातपात प्रथामाथि विद्रोह गरेका थिए, उनले आफ्नो प्रेम त पाए, तर समाजमा उनीसँगै उनका सन्तानले पनि मानिसको दर्जा पाएका छैनन् । ०७३ मा आएर उनका नाति अजित ढकाल (मिजार)ले अन्तर्जातीय प्रेमका कारण ज्यान गुमाए । पाँच वर्षदेखि उनको शव न्यायको पर्खाइमा छ । 

साहित्य र शास्त्रमा प्रेमका कथा निकै उच्च र आदर्श रूपमा आउँछन्– शब्दका फूलबुट्टा भरिएर, पृष्ठभूमि रंगिएर । वास्तवमा यस धर्तीमा मानिसहरूबीच प्रेम यसै पलाउँछ, जसै काटेका रुखमा हाँगा पलाउँछन्, जसै धर्तीमा बोटबिरुवा उम्रन्छन् । तर, प्राकृतिक रुपमा पलाएको प्रेमलाई कहिलेकाहीँ समाजका बनावटी विधि–व्यवस्था बाधा बनिदिन्छन् । 

आइतबार दिउँसो बाटुली ढकाल काभ्रेको पाँचखाल– ७ शिखरपुरस्थित आफ्नो घरछेउ पाँचवटा बाख्रा चराउँदै थिइन् । दिउँसो बाख्रा डुलाउनु, बिहानमा सकेको मेलापातको काम गर्नु, छोराहरूका घरतिर डुल्नु, साँझतिर चियापसल वा भट्टी पसलतिर छिर्नु– बाटुलीको दिनचर्या नै हो । 

साँझपख बाख्रालाई खोरमा ल्याउँदै गर्दा उनले भन्दै थिइन्, ‘हरियोपरियो खावस् भन्यो, चराउन लग्दा डुल्छन् मात्रै ।’ 

अचेल उनी यिनै बाख्राहरूसँग रमाउँछिन् । भूकम्पपछि सरकारले दिएको पैसाले उनले टहरो बनाएकी छन् । छोराहरूका घर पनि नजिकै छन्, तर उनी एक्लै बस्छिन् । २०५२ मा श्रीमान् खसेयता उनलाई एक्लै बस्ने बानी लागेको छ । 

‘पुगेकै छ । नाडी गलेको छैन । काम गर्न सक्छु । सर्खारले दिएको वृद्धभत्ता पाएकी छु,’ उनले खोरतिर हेर्दै भनिन्, ‘बाख्रा छन् । सक्दासम्म एक्लै बस्छु, नसकेका दिनमा जे त होला ! छोराहरू छन् केरे ।’

विवाहपछि छोराछोरी हुर्काउन बाटुली दम्पतीलाई निकै हम्मे प¥यो । रामबहादुरले घरबाट अंश पाएनन् । त्यसपछि उनीहरू बाटुलीकै माइती–मावलीले दिएको जग्गामा बस्न थाले । ‘उनले आफ्नो अंश खोजे, पाएनन् । बिचरा, केही पाएनन् । न आफ्नो जात पाए, न अंश पाए । उही मलाई मात्रै पाए,’ उनी आधा खुसी र आधा दुःखी भावमा बोलिन्, ‘उनी खस्दा पनि उनका दाजु र आफन्तहरू आएनन् ।’

 अजितकी हजुरआमा बाटुली मिजार ।

समाजमा पुरुषकै वंश चल्ने परम्परा छ, तर रामबहादुर ढकालको वंश समाजमा चलेन । रामबहादुर र बाटुलीका छोरानाति अहिले समाजमा दलितसरह छन्, अर्थात् विभेदमा छन् । 

बाटुलीका जेठा छोरा हरिभक्त ढकालका कान्छा छोरा हुन्, अजित । बाटुलीले अजितलाई निकै सम्झन्छिन् । उनलाई त नाति खसेको पत्यारै लाग्दैन । आँखाले देखेका, कानले सुनेका कुरामाथि कति नपत्याएर भो र ! नातिको नाम लिने बित्तिकै उनका गह भरिए ।

अजितले काभ्रेकै पराजुली थरकी किशोरीसँग प्रेम गरेका थिए । ०७१ बाट प्रेममा परेका उनीहरूले २५ असार ०७३ मा भागेर विवाह गरे । विवाहपछि उनीहरू दुई दिन भक्तपुरस्थित अजितकी दिदीको घरमा बसे । तर २७ असारमा केटाकेटी दुवैलाई पाँचखाल चौकीमा उपस्थित गराइयो, उमेर नपुगेकाले कानुनतः विवाह भएन र केटाकेटीलाई छुट्ट्याइयो । अजितका बुबा हरिभक्त भन्छन्, ‘उमेर नपुगेको भन्दा पनि जात नमिलेका कारण छुट्ट्याइएको हो, बहाना मात्र उमेर राखिएको हो ।’ 

२९ असारमा अजितले आमासँग एक सय रुपैयाँ मागेर मोबाइलको चार्जर किन्न निस्किएका थिए । तर फर्केनन् । उनी बेपत्ता भए । दिउँसोतिर एकपल्ट अजित आफैंले फोन गरेका थिए । फोन गर्दा अजित अत्तालिएर बोलेको अजितकी आमा बताउँछिन् । 

अजित हराएपछि परिवारले आफन्त र अजितका साथीहरूसँग सोधपुछ ग¥यो, कुनै खबर आएन । असार ३० गते बजार (तामाघाट) जाँदा हरिभक्तले एउटा नराम्रो खबर सुने– कोही धादिङको गजुरेमा झुन्डिएको अवस्थामा छ । अजितका बाबुलाई पत्याएर भएन, यहाँबाट छोरो धादिङ पुगेन होला भन्ने लाग्यो, उनले त्यस खबरबारे सोधखोज गरेनन् । 

त्यही दिन साँझतिर अजितकी आमा काली र काकी मनु अजितको साथीलाई सोध्न तामाघाट बजार पुगे । उनीहरू तामाघाटको चिया पसलमा पुग्दा भर्खरको युवक झुन्डिएको अवस्थामा फेला परेको खबर सुने । सामाजिक सञ्जालमा फोटो पनि छ भनेर सुने । अजितकी आमाले चिया पसलको साहुको मोबाइलबाट फोटो हेरिन् । फोटो देख्नेबित्तिकै उनी चिच्याएर रुन थालिन् । उनले छोराको कपडा सजिलै चिनिन् । 

खबर पक्का भएपछि आफन्तहरू लिएर हरिभक्त धादिङ पुगे । ‘हामी त्यहाँ पुग्नै रातभर लाग्यो,’ हरिभक्त भन्छन्, प्रहरीसँग लास बुझ्दा बेवारिसे भनेर गाडिसकेको बतायो ।’

सुरुमा प्रहरीले शव गाडेको ठाउँ देखाउन मानेन । आफन्त र अधिकारकर्मीले दबाब दिएपछि प्रहरीले शव देखाउन तयार भयो । धादिङ गजुरी फुर्के खोला नजिकै शव गाडिएको थियो । ‘शरीरको एकातिर कालोकालो दाग बनेको देखिन्थ्यो । शरीर गलाउन केही औषधि प्रयोग भएकोजस्तो थियो,’ हरिभक्त भन्छन्, ‘शरीर चिराचिरा पारिएको छ भनिएको थियो तर अजितको शरीरमा कतै चोटपटक थिएन ।’ अधिकारकर्मी र आफन्तले दबाब दिएपछि पोस्टमार्टमका लागि शव काठमाडौंको टिचिङ अस्पताल ल्याइयो । 

‘बेवारिसे शवलाई पनि केही दिन राखेर गाढ्ने तथा अन्तिम संस्कार गरिदिने नियम रहेछ,’ हरिभक्त भन्छन्, ‘तर, एकै दिनमा किन गाढियो भन्ने प्रश्न गर्दा प्रहरीले उत्तर दिन आनाकानी गरेको थियो । झुन्डिएरै मर्नु थियो भने ऊ धादिङसम्म पुग्ने थिएन, त्यहाँ कसरी पुग्यो ?’

अजितको मृत्युमा प्रश्नै प्रश्न छन् । यो मुद्दा अदालत पुग्यो । किशोरीका बुवा भोजराज पराजुली, दिदी सम्झना र काका पर्ने टेकबहादुलाई २० जेठ ०७५ मा वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङद्वारा सफाइ दिइयो । त्यसपछि उच्च अदालत पाटनमा पुनरावेदन गरियो । अहिले मुद्दा विचारधीन छ । अजितको शव पाँच वर्षदेखि टिचिङ अस्पतालमै छ ।

यी कुरा बारम्बार मिडियामा आएकै हुन् । आफ्नो प्रेमबारे थप कुरा भन्छिन् कि भनेर हामी बाटुलीलाई भेट्न पुगेका थियौँ । दिउँसो कुरा गर्दा उनी ठीकठाक थिइन् । तर, साँझ उनको दुनियाँ बेग्लै भइगयो, उनी केही क्षण रक्सीको नसामा झुम्मिइन् । कहिलेकाहीँ उनी मधुर नसामा निदाउन मन पराउँछिन् । उनको अर्को लत पनि छ— चिया, कहिलेकाहीँ कालो, कहिलेकाहीँ दूध राखेको । 

उनको दिल दुख्छ, आफ्नै प्रेम सम्झेर र प्रेममा ज्यान गुमाएको कलिलो नाति सम्झेर । 
 

Published Date: Wednesday, 14th July 2021 1:20:00 pm