काठमाडौं, फागुन २६  : ‘चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन...।’

नेपाली चलचित्र ट्रक–ड्राइभरको यो गीत कुनै बेला चर्चित थियो। अहिले पनि यो गीत सुनेर नोस्टाल्जिक हुने धेरै छन्। 

त्यस्तै, अर्को शम्भु राईको स्वरमा गीत छ– चिठी तिमीलाई लेखुँ भन्छु, मनको कुरा मनमै रह्यो...। 

अहिले हामी स्मार्ट फोन, इन्टरनेटको जमानामा छौँ। सबैतिर आइटी (इन्फर्मेसन टेक्नोलजी)को प्रयोग बढ्दै छ। 

एक जमाना चिठीपत्रको थियो। प्रेम गर्नेले मनको भावना व्यक्त गर्न चिठी लेख्थे, काम विशेषले घरदेखि बाहिर रहेकाले चिठी पठाउँथे। यसरी चिठी पठाउँदा व्यक्ति वा हुलाकमार्फत पठाइन्थ्यो। तर, आजकाल हुलाकबाट घरायसी चिठी पठाउने क्रम बन्दैजस्तो भएको छ। कार्यालयका चिठीपत्र भने हुलाकबाटै पठाइन्छ। 

तस्बिर : सुजल बज्राचार्य / काठमाडौं प्रेस

अहिले हुलाकले कसरी काम गरेको होला ? त्यही जानकारी लिन हामी अघिल्लो सोमबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय पुग्यौँ। कार्यालय परिसरमा हातमा कागजात लिएर उभिइरहेका थिए, ललितपुरका ३९ वर्षीय सुरोज व्यञ्जनकार। ललितपुरको एक सहकारी संस्थामा काम गर्ने उनलाई ती कागजात मकवानपुर पठाउनु थियो। उनका अनुसार, अफिसको अन्य कार्यालय वा व्यक्तिसँग सम्बन्धित कतिपय डकुमेन्ट मेल गर्दा पनि काम हुन्छ, तर सक्कली प्रति पठाउनैपर्छ। उनी भन्छन्, ‘त्यसका लागि हुलाक नै प्रयोग गर्दै आएका छौँ।’ 

आफूलाई बैंकको कर्मचारी बताउने कुमार भण्डारी पनि संस्थागत कागजात पठाउन हुलाक आएका थिए। विभिन्न जिल्लाका अदालत, प्रहरी चौकीहरूले कतिपय मुद्दामा परेका व्यक्तिको विवरण बैंकसँग पनि माग्दो रहेछ, आफूले काम गर्ने बैंकसँग मागिएका कतिपय त्यस्ता कागजात हुलाकबाटै पठाउने गरेको उनले बताए। धादिङ घर भएका ४२ वर्षीय कुमारले आजभन्दा १८ वर्षअघि हुलाकबाटै घर–परिवारलाई चिठी पठाउँथे। ‘त्यो बेला अहिलेजस्तो मोबाइल, इन्टरनेट थिएन। परिवार र साथीभाइसँग कुरा गर्न चिठीकै प्रयोग गरिन्थ्यो,’ उनले भने, ‘चिठीमार्फत परिवारसँग कुरा गर्दा कहिले चिठी घरमै नपुग्ने त कहिले घरबाट आएको चिठी मकहाँ नआउने पनि हुन्थ्यो। तर, अहिले प्रविधिका कारण घरमा कुरा गर्न सहज भएको छ।’

गोश्वारा हुलाक कार्यालयको गेटबाट छिर्नेबित्तिकै दायाँतर्फ रातो र नीलो रङका दुईवटा बाकस राखिएको छ, ‘पत्र–मञ्जुषा’ (लेटर बक्स)। अहिले त्यसको प्रयोग हुँदैन। त्यसैले त्यसअगाडिको खाली ठाउँलाई बाइक पार्किङ बनाइएको छ। 

यहाँ पोस्ट बक्स भएको कक्ष पनि छ, जहाँ विभिन्न पोस्ट बक्स नम्बर अंकित थुप्रै बक्स (दराज) छन्। पहिले निश्चित शुल्क तिरेर व्यक्ति तथा संस्थाले यस्ता पोस्ट बक्स सुविधा लिन्थे। यो सुविधा लिएपछि व्यक्ति तथा संस्थाले पोस्ट बक्स नम्बर भएको साँचोसहितको दराज पाउँछन्। त्यो पोस्ट बक्स नम्बरमा आएको पत्र कर्मचारीले त्यहीँ खसालिदिन्छन्। बेलाबेला गएर साँचो खोली चिठी ल्याउन सकिन्छ। 

कार्यालय प्रमुख प्रद्युम्नप्रसाद उपाध्याय भन्छन्, ‘विगतमा धेरै मानिसले प्रयोग गर्ने पोस्ट–बक्स अहिले धेरै कम भइसकेको छ।’ 

उपाध्यायका अनुसार फोन, इन्टरनेटका कारण हुलाकको प्रयोग कम भएको देखिए पनि यसको महत्त्व अझै उत्तिकै छ। ‘नेपालमा हुलाक भन्नेबित्तिकै चिठीपत्र मात्र वितरण गर्ने संस्था हो भन्ने गलत धारणा छ। त्यसो हो भने त विदेशमा रहेका सबै हुलाक बन्द हुनुपर्ने हो,’ उनी भन्छन्, ‘हामीले कुनै पनि सक्कली कागजात औपचारिक रूपमा पठाउनुपर्दा हुलाकमार्फत पठाउने चलन अहिलेसम्म छ।’ 

उनका अनुसार, कतिपय संस्थामा स्क्यान गरिएको डकुमेन्ट मान्य हुँदैन, सक्कली डकुमेन्ट नै आवश्यक पर्छ। 

कसरी हुन्छ यस कार्यालयमा काम ?

हुलाकमा साधारणतः तीन तहमा कार्य विभाजन हुन्छ। सुरुमा कुनै पनि ठाउँ वा देश–विदेशबाट चिठी आउँछ। त्यसलाई हुलाकमा दर्ता गरिन्छ। दर्ता गरिसकेपछि सर्टिङ (श्रेणीबद्ध) गरिन्छ। 

चिठीको खाममा प्रापकको नाम, ठेगाना लगायत विवरण हुन्छन्। त्यसलाई आधार मानेर कुन–कुन ठाउँमा पु¥याउनुपर्ने हो, त्यस नजिकको ठाउँमा रहेको हुलाक कार्यालयमा ढुवानी गरिन्छ। त्यहाँ पुगेपछि हल्काराले सम्बन्धित मानिसलाई वितरण गर्छ। 

यसरी कहिलेकाहीँ ठेगाना परिवर्तन भएको वा सम्बन्धित मानिससम्म चिठी पु¥याउन नसकिएको अवस्थामा भने सो चिठी फेरि कार्यालयमै फर्काइन्छ। अहिले पनि गोश्वारा हुलाक कार्यालयमा मात्र मासिक एक लाखको हाराहारीमा चिठी आउने गरेको उपाध्याय बताउँछन्। यस्तै अहिले नेपालबाट विदेशमा चिठी पठाउनेभन्दा पनि आउने संख्या बढी भएको उनले बताए। 

उपाध्यायका अनुसार, कुरिअर तथा चिठीलाई छिटो–छरितो वितरण गर्न गाडीहरूको प्रयोग भइरहेको छ। उपाध्याय भन्छन्, ‘डाँक सेवाका लागि पनि हामीले यातायातको व्यवस्था गरेका छौँ। जुन उपत्यका, पोखरा र चितवनमा जान्छ,’ उनले भने, ‘टाढाको ठाउँ जस्तै रामेछाप, दोलखातिर चिठी पु¥याउनुपर्दा भने अन्य यातायात व्यवसायीसँग सम्झौता गरी चिठी पु¥याउने गरेका छौँ।’ 

यस्तै उपत्यकाको हकमा सरकारी कार्यालयहरूको चिठी आदान–प्रदान गर्न तीनवटा घुम्ती सेवा र केही हल्कारासँग मोटरसाइकल छ, त्यसैबाट चिठीहरू वितरण भइरहेका छन्। 

अहिले धेरै मानिस नयाँ प्रविधि र सामाजिक सञ्जालसँग जोडिएका छन्। उनीहरू एक आपसमा कुराकानी गर्न र आवश्यक कागजात लगायत सामग्री आदानप्रदान गर्न स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्छ। त्यसकारण हुलाकको प्रयोग विगतको तुलनामा निकै कम भइसकेको उपाध्याय बताउँछन्। 

अर्कोतिर, पठाएको सामग्री समयमै पुग्छ भनी हुलाकले मानिसमा विश्वसनीयता पैदा गर्न नसक्नु,  हुलाकबाट पनि पत्र वा कागजात पठाउन मिल्छ भन्ने चेतनाको कमी हुनु आदि कारण यसको जति प्रयोग हुनुपर्ने हो त्यति नभएको उपाध्यायको भनाइ छ। यद्यपि औपचारिक कागजात अझै पनि हुलाकमार्फत पठाउने चलन नहटेकाले यसको महत्त्व उस्तै छ। 

गुगल प्लस कोड सुरु

नेपालको हुलाक सेवालाई अझ राम्ररी विस्तार गर्न कार्यालयले गुगल प्लस कोडको प्रयोग सुरु गरेको छ। गुगल प्लस कोड प्रयोग गरेर चिठी पठाउँदा चिठी पु¥याउनेलाई सहज हुन्छ, उसबाट घरको ठेगाना सहजै पत्ता लाग्छ। 

‘गुगलले निःशुल्क रुपमा दिएको कोडिङ सेवाको सबैले प्रयोग गर्ने हो भने चिठी वा पार्सलको आदानप्रदानमा सहज हुन्छ,’ प्रमुख उपाध्याय भन्छन्, ‘आफ्नो स्मार्ट फोनमा गई गुगलमा सात अक्षरको आफ्नो घरको कोड सजिलैसँग बनाउन मिल्छ। चिठी वा पार्सल पठाउँदा नाम र ठेगानाका साथै बनाइएको घरको गुगल प्लस कोड पनि राख्ने हो भने चिठी पु¥याउने कर्मचारीलाई त्यहाँसम्म पुग्न सहज हुन्छ।’ 

चिठी पु¥याउन गुगल प्लस कोडको प्रयोग गर्ने निर्णय फागुन १० गते भएलगत्तै १७ गते गुगल प्लसकोडसहितको विदेशी चिठी नेपाल आएको उपाध्यायले बताए। यसरी प्रविधिको सदुपयोग गर्न सके हुलाक सेवालाई प्रभावकारी रूपमा लैजान सकिने उनको भनाइ छ। 

गुगल प्लसकोडको प्रयोग गर्न सके हुलाक सेवाका लागि मात्र नभई अन्य धेरै सेवा लिन सकिने उपाध्याय बताउँछन्। ‘आफ्नो घरको गुगल प्लस कोड बनाएर हुलाक मात्र नभई दमकल, प्रहरी, एम्बुलेन्सलगायत धेरै सेवा लिन सहज हुन्छ,’ उनले भने। 

गोश्वारा हुलाक कार्यालय के हो ?

गोश्वारा हुलाक कार्यालय ‘हुलाक सेवा विभाग’ अन्तर्गतको कार्य सञ्चालन स्तरको प्रमुख कार्यालय हो। १९३५ सालमा ‘नेपाल हुलाक घर’को स्थापनापछि गोश्वारा हुलाक कार्यालयले कार्य प्रारम्भ गरेको पाइन्छ। 

हुलाक सेवा विभागको वेबसाइट अनुसार, हुलाकबाट प्रदान गरिने सबै सेवाहरू एउटै हुलाकबाट उपलब्ध गराउने र नेपालबाट विश्वका विभिन्न देशमा हुलाक वस्तुको आदान प्रदान गर्नका लागि गोश्वारा हुलाक कार्यालयको स्थापना गरिएको हो। नेपालले २०१३ साल असोज २६ गते विश्व हुलाक संघको सदस्यता लिएसँगै २०१६ सालमा वैदेशिक डाँक आदान–प्रदान हुन थालेको थियो। त्यसपछि यसको भूमिका अझ बृहत भएको छ। 

यो कार्यालयले विश्व हुलाक संघले पारित गरेका ऐन–नियम तथा नेपाल सरकारद्वारा पारित ऐन, नियम, नीति, निर्देशन बमोजिम आन्तरिक तथा वैदेशिक डाँक सञ्चालनका साथै जनतालाई विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ। 

यसको कार्यालय २०२३ सालदेखि सुन्धारा, काठमाडौंमा रहिआएको थियो। २०७२ को भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि सुन्धारास्थित यस कार्यालयको भवन खाली गर्नुपरेकाले हाल यस कार्यालय डिल्लीबजारस्थित हुलाक सेवा विभागका लागि भनी निर्माण गरिएको भवनमा सरेको हो।

यस कार्यालय अन्तर्गत काठमाडौं जिल्लाको २० स्थानमा इलाका हुलाक कार्यालय र सो अन्तर्गतका ५२ स्थानमा अतिरिक्त हुलाक कार्यालय तथा ३ स्थानमा हुलाक काउन्टर रहेका छन्। 

गोश्वारा हुलाक कार्यालयले काठमाडौं जिल्लाका हुलाक वस्तुहरुको दर्ता, वितरण तथा हुलाकसँग सम्बन्धित अन्य सेवाहरु प्रदान गर्छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साधारण, रजिस्ट्री हुलाक वस्तुहरुको अभिलेख राखी सम्बन्धित क्षेत्रमा पठाउने र प्राप्त गर्ने, आन्तरिक तथा वैदेशिक डाँक आदान–प्रदान गर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय द्रूत डाँक सेवा सञ्चालन गर्ने, हुलाक बचत बैंक सञ्चालन गर्ने गर्छ। साथै, साबिकको मध्यमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय खारेज भएकाले सो निर्देशनालयको साबिकको काम समेत गर्ने गरेको छ।
 

Published Date: Wednesday, 10th March 2021 1:16:00 pm