काठमाडौं, फागुन १५ : १९ माघ सोमबार। दिउँसो करिब दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगैको रोयल नेपाल गल्फ क्लबको रेन्जमा पुग्दा तीनजना गल्फ क्लबले बल हान्ने तयारी गर्दै थिए, सँगै नेटमा अभ्यासरत थिइन्, गल्फर प्रतिमा शेर्पा।

दुई साताअघि मात्र नेपाल आएकी प्रतिमालाई भेट्न हामी प्रतिमाकै ‘होम कोर्स’ रोयल नेपाल गल्फ क्लब पुगेका थियौँ। हामी रेन्जतर्फ झर्दै गर्दा नेटमा अभ्यासरत उनले आफू यता रहेको संकेत गरिन्। हामी उनी नजिकै पुग्यौँ, सामान्य परिचय भयो।

‘कहाँ बसेर कुरा गरौं ?’ हामीले सोध्यौँ।

उनी अलमलमा परिन्। ‘कहाँ बसेर कुरा गर्दा हुन्छ ?’ नजिकै कुर्सीमा बसिरहेका व्यक्तितर्फ फर्कँदै प्रतिमाले सोधिन्।

उनी प्रतिमाकै प्रशिक्षक सचिन भट्टराई रहेछन्। कुर्सीबाट उठ्दै उनले हातले इशारा गर्दै तल चौरतिर देखाए।

प्रतिमा चौरतिर झरिन्, उनलाई पछ्याउँदै हामी त्यतै लाग्यौँ।

चौरमा पुगेपछि उनले गल्फ क्लबकी कर्मचारीसँग चकटी मागिन् र ओछ्याउँदै बस्न आग्रह गरिन्, हामी बस्यौँ। अनि सुरु भयो, नेपालकी नम्बर एक गल्फर प्रतिमासँगको हाम्रो कुराकानी।

कुराकानीको सुरुवात अमेरिका यात्राबाटै भयो। नेपालमै सीमित रहेकी प्रतिमा अमेरिका गएपछि नै अन्तर्राष्ट्रियस्तरमा परिचित बनिन्, थुप्रै अखबार र अनलाइनको फ्रन्टलाइनमा आइन्, त्यसैले हामीले कुरा त्यहीँबाट सुरु गर्‍यौँ।

प्रतिमा सन् २०१७ मा पहिलोपटक अमेरिका गइन्। गल्फ प्रशिक्षणका लागि अमेरिका गएकी उनी दुई महिनापछि स्वदेश फर्किइन्।

नेपालमै गल्फमा रहेकी किशोरी कसरी पुगिन् त अमेरिका ?

‘नेपालमै गल्फ खेलिरहेकी थिएँ। त्यही समयमा मेरो स्टोरी गल्फ डाइजेस्ट म्यागेजिनमा छापियो। त्यो समाचार एकजना अमेरिकीले हेर्नुभएछ। र, मलाई सम्पर्क गर्नुभयो। दुई महिना गल्फ प्रशिक्षणका लागि आउन प्रस्ताव गर्नुभयो र सन् २०१७ मा अमेरिका गएँ,’ प्रतिमाले भनिन्।

हाेम काेर्समा गल्फर प्रतिमा।

१२ कक्षाको परीक्षा दिएर अमेरिका गएकी प्रतिमाले त्यहाँ पढ्नका लागि केही कलेज पनि हेरिन्। र, अमेरिका आउने निधो गर्दै दुई महिने बसाइलाई बिट मार्दै नेपाल फर्किइन्।

दुई महिनाको अमेरिका बसाइमा उनले क्यालिफोर्नियामै गल्फ प्रशिक्षण लिइन् र केही प्रतियोगिता पनि खेलिन्। त्यसबेला प्रतिमाले पाँचवटा प्रतियोगिता खेलिन्, एउटामा विजेता पनि बनिन्। त्यही दुई महिनामा गल्फलाई अझ नजिकबाट बुझ्ने मौका पाएको उनी बताउँछिन्।

अमेरिका आउने बाचासहित नेपाल फर्किएकी प्रतिमाले त्यो बाचा तत्काल पूरा गर्न सकिनन्। आखिर किन ?

‘परिवार छाडेर त्यति टाढा जान कन्फिडेन्ट नै आएन,’ प्रतिमाले जवाफ दिइन्। उनलाई अमेरिका जान कन्फिडेन्ट नआउनुको अर्को कारण थियो, ममी–बाबाको माया।

‘ममी–बाबालाई छाडेर बाहिर बसेकै थिइनँ, त्यसैले लामो समय उहाँहरू विना बस्न सक्छुजस्तै लागेन,’ उनले ममी–बाबाप्रति माया दर्शाइन्। त्यसपछि दुई वर्ष प्रतिमाले नेपालमै पढिन्, यहीँ गल्फमा रमाउन थालिन्।

टाइगर उडसँगको त्यो भेट

सन् २०१८ मा रोयल नेपाल गल्फ कोर्समै रमाइरहेकी प्रतिमाको ‘दी हिमालयन टाइम्स’मा एउटा स्टोरी छापियो। त्यही स्टोरीले उनलाई दोस्रोपटक अमेरिका पु¥यायो र आफ्ना आइडल टागर उड्ससँग भेट गरायो।

हिमालयन टाइम्सको त्यही स्टोरी हेरेर चर्चित न्युज पोर्टल ‘ईएसपीएन’ले प्रतिमाबारे डकुमेन्ट्री ‘अ माउन्टेन टु क्लाइम’ बनाउने निर्णय गरेको थियो। त्यही डकुमेन्ट्री रिलिजका क्रममा उनी दोस्रोपटक अमेरिका पुगिन्, अनि टाइगर उड्ससँग पनि भेट गरिन्।

टीजीआर फाउन्डेसनमा टाइगर उड्ससँग प्रतिमा।

‘हिमालयन टाइम्सको स्टोरी पढेपछि ईएसपीएनको टिमले मेरो कोच सचिन भट्टराईसँग म्यासेन्जरमा सम्पर्क गर्नुभएछ। सचिन सरले मसँग कुरा गर्नुभयो, त्यसपछि डकुमेन्ट्रीका लागि तयार भएँ,’ प्रतिमा भन्छिन्, ‘सहमतिपछि उहाँहरू मलाई भेट्न नेपाल आउनुभयो। सुरुमा सामान्य कुराकानी मात्र भयो। केही छिनको कुराकानीमै उहाँहरूसँग कनेक्ट भएँ, एउटा साथीजस्तो, परिवारजस्तै भएँ।’

२३ अप्रिल २०१८। ‘अ माउन्टेन टु क्लाइम’को प्रिमियर कार्यक्रम। आफ्नैबारेमा बनेको डकुमेन्ट्री प्रियिमरका लागि प्रतिमा पनि क्यालिफोर्निया पुगिन्। यो उनको दोस्रो अमेरिका यात्रा थियो।

प्रतिमा एक साता मात्र अमेरिका बसिन्। तर, उनका लागि यो यात्रा निकै अविष्मरणीय बन्यो।

प्रिमियरमा एकजना व्यक्तिसँगको उनको परिचय भयो। नाम भने उनलाई याद छैन।

‘हु इज योर फेबरेट गल्फ ?’ उनले प्रश्न गरे।

‘टाइगर उड,’ प्रश्न नसकिँदै प्रतिमाले जवाफ दिइन्।

प्रतिमाले त्यो कार्यक्रमको एउटा ‘क्लिप’ सेयर गरिन्।

प्रतिमाका आइडल हुन्, टाइडर उड्स। गल्फमा रमाइरहेका थुप्रैले टाइडर उड्सलाई आइडल मान्छन्, प्रतिमाजस्तै।

कार्यक्रमपछि प्रतिमा ममी–बाबासँगै ‘होस्ट फ्यामिली’कै घर गइन्। भोलिपल्ट मोबाइलको घण्टीसँगै प्रतिमाको निद्रा खुल्यो। आँखा मिच्दै उनले मोबाइल हेरिन्, म्यासेज आएको थियो। उनले म्यासेज हेरिन्।

लेखिएको थियो– यु आर गोइङ टु फ्लोरिडा टु मिट विथ टाइगर उड्स।

म्यासेज हेरेपछि प्रतिमाको निद्रा भाग्यो, उनी खुसीले उफ्रिइन्।

‘मैले पत्याउनै सकिरहेको थिइनँ, सपनामै छुजस्तो लागेको थियो,’ त्यो दिन सम्झिरहँदा प्रतिमाको मुहारमा खुसी छायो।

टाइगर उड्सलाई ‘होम कोर्स’ क्याप उपहार दिएपछि प्रतिमा।

‘यो खुसी परिवारसँग बाँडे। सबै खुसी हुनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘केही समयपछि फोन आयो, फ्लोरिडा आउन भन्नुभयो। फोन राखिनसक्दै मेरो मन प्लोरिडा पुगिसकेको थियो।’

त्यो फोन र म्यासेज गर्ने व्यक्ति तिनै थिए, जोसँग प्रतिमाले डकुमेन्ट्री प्रिमियरमा परिचय गरेकी थिइन्। त्यसपछि बल्ल प्रतिमाले थाहा पाइन्, उनी टाइगर उड्स फाउन्डेसनका प्रतिनिधि रहेछन्।

त्यही दिन दिउँसो क्यालिफोर्नियाबाट फ्लोरिडाका लागि निस्किइन्, प्रतिमा। उनीसँगै होस्ट सिस्टर पनि थिइन्। ‘फ्लोरिडा जाँदा म जति एक्साइटेड थिएँ र त्यति नै नर्भस पनि। फ्लाइटमा छुजस्तो पनि लागिरहेको थिएन,’ उनले क्यालिफोर्निया–फ्लोरिडा यात्राको सम्झना गरिन्।

फ्लोरिडास्थित टीजीआर फाउन्डेसन पुग्दा प्रतिमालाई टाइगर उड्ससँगको भेटका लागि पाँच मिनेट मात्र समय दिइयो। तर, उनले आफ्ना आइडलसँग ३० मिनेट उनकै कोर्समा बिताइन्। त्यो ३० मिनेटलाई उनले जीवनकै महत्वपूर्ण समय ठानेकी छन्।

‘त्यो ३० मिनेटमा के–के भयो ?’

प्रश्न सुनेपछि टाइर उड्ससँगको ३० मिनेट सम्झिइन्–

टाइगर उड्ससँगको त्यो भेट अहिले पनि मेरो मानसपटलमा ताजै छ। नहोस् पनि कसरी? जसलाई हेरेर गल्फ सिकियो, उनी आफ्नै अगाडि थिए।

बाहिरबाट कोर्स आएर मलाई देख्नेबित्तिकै हात हल्लाउँदै ‘हाई प्रतिमा’ भनेर बोलाउनुभयो। त्यो अवाज अहिले पनि मेरो कानमा गुन्जिरहेको छ, गुन्जिरहनेछ।

त्यो सम्झेर अहिले पनि दंग पर्छु। मेरै सामुन्ने डाइगर उड्स हुनुहुन्थ्यो, म निकै रोमाञ्चित थिएँ। सधैं टीभीमा देखिरहेको आफ्नो ‘आइडल’लाई आँखैसामुन्ने देख्दा पत्याउनै गाह्रो भएको थियो, खुसीसँगै नर्भस पनि थिएँ।

उहाँले आफ्ना कुरा सुनाउनुभयो। जीवनका उतारचढावका कुरा गर्नुभयो। केही पारिवारिक कुरा पनि भए, सँगै खानपान पनि। उहाँले आफूले जीवनमा गरेका गल्तीहरू सुनाउँदै मलाई त्यस्तो कहिल्यै नगर्न सल्लाह दिनुभयो।

केही क्षण कुरा गरेपछि उहाँले ‘तिमीले बल हानेको हेर्ने मन छ’ भन्नुभयो। हामी कोर्समा गयौँ। उहाँले आफ्नै गल्फ क्लब दिँदै बल हान्न भन्नुभयो। म खालीखुट्टै थिएँ, नर्भस थिएँ र मेरा खुट्टा कामिपरहेका थिए।

बल हान्न त भन्नुभयो, तर कस्तो हुने भन्ने मेरो मनमा डर थियो, आत्तिएको पनि थिएँ। तर, राम्रै सट हाने। उहाँले मेरो प्रशंसा गर्नुभयो। उहाँले एउटा चकलेट दिँदै भोकै कहिल्यै नखेल्न भन्नुभयो।

‘योर प्यासन इज सो इन्स्पायरिङ अलवेज’ लेखिएको टीजीआर फाउन्डेसको झण्डा र तीनवटा क्याप उपहार दिनुभयो। मैले कुनै खास उपहार त लगेको थिइनँ, ब्यागमा रोयल नेपाल गल्फ क्लबको एउटा क्याप थियो, त्यही उपहार दिएँ। केही फोटो खिच्यौँ र हामी छुट्टियौँ।

टीजीआर फाउन्डेसनमा टाइगर उड्ससँग प्रतिमा।

प्रतिमाले खेलेको पहिलोपटक देखे पनि टाइगर उड्स उनको खेलबारे जानकार दिए। उड्सले त्यो भेटमा प्रतिमालाई ‘तिम्रो खेल नियालिरहेको’ बताएका थिए।

त्यसैले उड्सले प्रतिमालाई सन् २०१६ मै चिठी पठाएका थिए। टाइगर उड्सको त्यो चिठीका प्रत्येक शब्द–शब्दसँग उनी परिचत छिन्, र उनलाई त्यो कण्ठस्थ छ।

चिठीमा लेखिएको थियो–
हाइ,
म टाइगर।
तपाईंले हासिल गर्नुभएका उपलब्धीहरूले म निकै गौरवान्वित छु। त्यति उच्चस्तरमा खेल्ने तथा धेरै व्यक्तिहरू, विशेषगरी किशोरीहरूलाई प्रेरित गर्नु निकै सराहनीय छ।

मेरो बाबुले भन्ने गरेको एउटा कुरा म सधैँ सम्झिने गर्छु। उहाँ भन्नुहुन्थ्यो, ‘तिमीले त्यही पाउँछौ, जे भित्र राख्छौ।’ अर्थात्, यदि तिमीले मिहिनेत ग¥यौ भने तिमी सफल हुनेछौ, तर गरेनौ भने तिमी सफलताको लायक हुँदैनौ। भविष्यमा महान कार्य गर्ने प्रतिभा, प्रतिबद्धता र लगनशीलता तपाईंमा देखेर म हर्षित छु।

आफ्नो ख्याल राख्नुहोला। मलाई विश्वास छ, तपाईंले यो खेलमा र आफ्नो जीवनमा थुप्रै उपलब्धी हासिल गर्नुहुनेछ।

उही तपाईंको,
टाइगर उड्स

प्रतिमाले चिठीका लागि उड्सलाई धन्यवाद पनि दिइन्, उड्स मुस्कुराए मात्र।

उड्ससँग त्यो भेटमा प्रतिमाले धेरै कुरा सिक्ने अवसर पाइन्। खेल्ने तरिकादेखि जीवन व्यवस्थापनसम्मको। छुट्नेबेलामा उड्सेले प्रतिमालाई भने, ‘तिमी जति प्रतिष्ठित हुँदै जान्छौ, मान्छेहरू त्यति नै तिमीलाई खोज्छन्, तिमीसम्म आउँछन्। त्यसलाई व्यवस्थापन गर्न जान्नुपर्छ।’ र, जीवनमा आफूले के गर्ने भन्ने निश्चित हुनुपर्ने पनि उड्सले प्रतिमालाई भने।

उड्सका अन्तिमका ती भनाइ प्रतिमा अहिले पनि फलो गरिरहेकी छन्। त्यसले आफूमा सकारात्मक ऊर्जा प्राप्त भएको प्रतिमा बताउँछिन्। त्यही भेटपछि नै प्रतिमालाई आफू पनि खेलाडी हुँ भन्ने बोध भएको छ।

उड्ससँगको भेटपछि प्रतिमाले गल्फ भनेको खेल्ने कुरा मात्रै होइन, यसका लागि मानसिक रूपमा पनि बलियो हुनुपर्छ भन्ने सिकिन्। खेलसँगै आफूलाई मानिसिक रूपमा पनि बलियो बनाउनुपर्छ भन्ने जानिन्।

०००

‘अ माउन्टेन टु क्लाइम’ डकुमेन्ट्रीको प्रिमियरमा अमेरिका पुगेकी प्रतिमा एक सातापछि नेपाल फर्किन्। यहीँ गल्फसँगै पढाइलाई निरन्तरता दिइन्। गल्फमा राम्र्रै चर्चा पाइरहेकी प्रतिमालाई एकदिन ठूलो मौका गुमाएजस्तो लाग्यो। उनलाई लाग्यो– गल्फमै केही गर्ने हो भने अमेरिका जानैपर्छ।

त्यसपछि प्रतिमाले अरु सोचिनन्, अमेरिका जाने निर्णय गरिहालिन्। उनी भन्छिन्, ‘त्यसपछि तत्काल होस्ट फ्यामिलीसँग कुरा गरेँ। र, सन् २०१९ को जनवरीमा अमेरिका गएँ।’

प्रतिमा अहिले लज एन्जलसस्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा बिजनेस म्यानेजमेन्ट अध्ययन गरिरहेकी छन्। उनी भर्खरै सान्टा बार्बाराबाट लस एन्जलस ट्रान्सफर भएकी हुन्। कोभिड–१९का कारण दुई सेमेस्टर क्यान्सिल भएपछि प्रतिमा अहिले नेपालमै छिन्।

नेपालमा एक्लै गल्फ खेल्ने प्रतिमाले गल्फका लागि कलेजमै थुप्रै साथी पाएकी छन्। प्रतिमा भन्छिन्, ‘यहाँ एक्लै खेल्नुपर्दा कहिलेकाहीँ अल्छी लाग्थ्यो, तर उता खेल्नका लागि थुप्रै साथीहरू छन्, छुट्टै इनर्जी आउँछ।’

अमेरिकामा गल्फ गर्दै प्रतिमा ।

प्रतिमाले कलेजमै टुर्नामेन्टहरू खेलिरहेकी छन्। पहिलो सेमेस्टरमा १२ वटा प्रतियोगिता खेलेकी उनी एउटामा विजेता पनि बनिन्। कलेजको टिमबाट प्रतियोगिता खेल्दा छुट्टै किसिमको रमाइलो हुने प्रतिमाको अनुभव छ।

दुई वर्षे अमेरिका बसाइले गल्फलाई हेर्ने प्रतिमाको दृष्टिकोणमा पनि परिवर्तन आएको छ। ‘कोर्सहरू देख्दा यो ग्रिनलाई अझै राम्रो बनाउन सकिन्थ्यो, यो ग्रिन यस्तो भयो भने अझै च्यालेन्जिङ हुन्छजस्तो लाग्छ। फरक–फरक कोचहरूसँग संगत भएको छ, यसले धेरै कुरा सिक्न पाइरहेको छु,’ प्रतिमा भन्छिन्, ‘पहिलो खेलमा मात्र फोकस हुन्थेँ, अहिलेचाहिँ खेलमा मात्र नभई कोर्सलाई नै मेन्टिनेन्स गर्नेतर्फ पनि ध्यान जान्छ। फ्युचरको बारेमा सोच आउन थालेको छ।’

नेपालका गल्फ कोर्ससँग परिचत प्रतिमा अमेरिकाका गल्फ कोर्सहरू निकै फरक भएको बताउँछिन्। ‘बच्चैदेखि खेलेको, कहाँ के छ भन्ने सबै थाहा छ। उहाँचाहिँ धेरै गल्फ कोर्सहरू छन्, कोर्सहरू पनि निकै फरक हुने। एउटै गेममले सबै कोर्समा खेल्न नसकिने रहेछ। कोर्स म्यानेज गर्नुपर्ने, आफ्नो माइन्डलाई एकदमै युज गर्नुपर्ने रहेछ,’ प्रतिमा भन्छिन्। अमेरिका गएपछि नै गल्फमा म्यानेजमन्टको ठूलो भूमिका हुने उनले बुझिन्।

अरूलाई यसरी खेल्नुपर्छ भन्ने सजेस्ट नै गर्ने बेला नभएको प्रतिमा बताउँछिन्। तर, उहाँका सिकेका कुरा पछि यहीँ आएर सिकाउने प्रण उनले गरेकी छन्।

कोभिड–१९ को पीडामा फोर्ब्सको मल्हम

रोयल नेपाल गल्फ क्लबसँगै हुर्किएकी प्रतिमाले जीवनमा खासै दुःख पाइनन्, त्यति धेरै पीडा अनुभूत पनि गरिनन्। तर, कोभिड–१९ ले पीडा दियो। यत्रो महामारीमा ममी–बाबालाई एक्लै छोड्नुपर्दा उनलाई पीडा भएको रहेछ, त्यो पीडा मात्र थिएन आमा–बाबाप्रतिको जिम्मेवारी र माया पनि थियो।

प्रतिमाको जन्म सोलुखुम्बुको नाम्चेमा भएको हो। उनी सानै छँदा उनको परिवार काठमाडौं आयो। र, परिवार रोयल नेपाल गल्फ क्लबको कोर्ससँगैको छाप्रोमा बस्दै आएको छ। उनका बाबा पासाङ गल्फ कोर्समै काम गर्छन्, २२ वर्ष रोयल नेपाल गल्फ क्लबमै बिताएकी प्रतिमाकी आमा कल्पना अहिले रिटायर्ड भएकी छन्।

‘एक्लो सन्तान म यत्रो महामारीमा पनि बाहिर थिएँ, ममी–बाबा मात्र घरमा एक्लै हुनुहुन्थ्यो। कोरोनाले धेरै मान्छेहरू मरिररहेका थिए, यो अवस्थामा उहाँहरूसँगै नहुँदा एक हिसाबले ग्लानी फिल पनि भयो। दिनदिनै आउने मान्छे मरेका समाचारले दिमाग नै खलबलिएको थियो। घर जान पाए पनि हुन्थ्यो, ममी–बाबासँग सँगै बस्न पाए पनि हुन्थ्योजस्तो भइरहेको थियो,’ बोलिरहँदा प्रतिमाको स्वर मलिन भयो। सफलताका कुरा गरिरहँदा चम्किलो भएको उनको अनुहार केही अँध्यारो भयो।

रोयल नेपाल गल्फ क्लबसँगै रहेको घरमा ममीबाबासँग प्रतिमा।

कोराना महामारीमा उनले जति पीडा अनुभूत गरिन्, सँगै खुसी सँगाल्न पनि पाइन्। पीडाबीचको त्यो खुसी फोर्ब्सको एउटा समाचारले दियो।

२ अप्रिल २०२० मा फोर्ब्सले सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रतिभाशाली व्यक्तिको सूचीमा प्रतिमाको पनि नाम थियो। उनी मनोरञ्जन तथा खेलकुद विधामा २४औँ नम्बरमा थिइन्।

‘त्यो खबरले मलाई रिफ्रेस्मेन्ट दियो। कोरोनाकालमा ममी–बाबालाई साथ दिननसक्दा दुःखी भएको मलाई त्यो खबरले खुसीको सञ्चार दियो,’ उनी भन्छिन्। प्रतिमाको अनुहारमा फेरि खुसी छायो। ‘मलाई आफ्नो उद्देश्य र लक्ष्य के हो भन्ने सम्झायो,’ प्रतिमा भन्छिन्, ‘खुसीसँगै गल्फमा केही गर्न यहाँ आएको, मैले गर्नुपर्ने कुरा थुप्रै छन् भन्ने फिल गरायो।’ त्यो खबरले लक्ष्यप्राप्तिको यात्रामा एक हिसाबले मोटिभेसनकै काम गरेको प्रतिमालाई लागेको छ।

०००

रोयल नेपाल गल्फ क्लबकै वरिपरि हुर्किइन्, प्रतिमा। कोर्ससँगै घर भएकाले गल्फसँग उनको प्रीति सानैदेखि बस्यो। अरूले खेलेको हेर्दै रमाउने प्रतिमा काठको लौराले ढुंगा हान्दै गल्फ खेल्ने रहर पूरा गर्थिन्। अरूले खेलेको देख्दा उनलाई पनि खेलूँ–खेलूँ लाग्थ्यो।

प्रतिमाको त्यो इच्छा स्न २०११ मा पूरा भयो, उनी त्यतिखेर ११ वर्षकी मात्र थिइन्। रोयल नेपाल गल्फ क्लबसँगै लठ्ठीले ढुंगा हान्दै खेलिरहेकी उनलाई टासी घले (नेपाल गल्फ एसोसिएसनका अध्यक्ष)ले देखे र कोर्समा आउन निमन्त्रणा दिए।

‘टासी सरले शनिबारदेखि कोर्समा आऊ, जुनियर क्याम्प चलिरहेको छ भन्नुभयो, निकै खुसी भएँ,’ प्रतिमा भन्छिन्, ‘शनिबार कहिले आउँछ, गल्फ खेल्न पाइन्छ भन्ने भयो। खुसीसँगै छटपटी पनि भयो।’

रोयल नेपाल गल्फ क्लबको रेन्जमा प्रतिमालाई गल्फ सिकाउँदै प्रशिक्षक सचिन भट्टराई।

त्यही शनिबारदेखि सुरु भयो प्रतिमाको गल्फ यात्रा। पहिलो जित नै उनले सबैको प्रशंसा पाइन्। ‘सबैले कस्तो राम्रो स्विङ भनेर तारिफ गर्नुभयो। त्यसले फुरुंग पनि भएँ, र नर्भस पनि,’ प्रतिमाले गल्फ क्लब समातेको त्यो दिन सम्झिइन्, ‘बल साँच्चै राम्रो स्विङ भएको थियो, दाउराले त्यसरी बल कहिल्यै उडेको थिएन, आफैँलाई अचम्म पनि लाग्यो। च्याम्पियनजस्तो फिल भएको थियो।’

जुनियर क्याम्पमै एउटा कम्पिटिसन भयो। त्यहाँ १० वटा होल थिए, सबै होलमा बल छिराउनुपर्ने थियो। त्यसमा प्रतिमासँगै अन्य खेलाडी पनि सहभागी भए। प्रतिमाभन्दा अघिका कसैले पनि बल छिराउन सकेननन्, प्रतिमाको पालो अन्तिममा थियो। ‘भाग्यवस मैले १० वटै होलमा बल छिराएँ। एउटा ट्रफी पनि दिनुभयो, त्यो मेरो जीवनको पहिलो ट्रफी थियो,’ प्रतिमा भन्छिन्।

त्यसयता प्रतिमाले तीन दर्जनभन्दा बढी ट्रफी जितिसकिन्। तर, उनलाई सुरुआतको त्यो ट्रफी सबैभन्दा विशेष लाग्छ। त्यही ट्रफीले गल्फ खेल्न आफूमा ऊर्जा मिलेको उनले ठानेकी छन्।

०००

नेपाली नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा अहिले नेपाल मात्र होइन, बाहिर पनि उत्तिकै छाएकी छन्। कैयौँपटक उनी पत्रिका छापिइन्, रेडियोमा सुनिइन् र टीभीमा देखिइन्।

पहिलोपटक कक्षा ७ मा पढ्दा प्रतिमा समाचार बनिन्। पत्रिका, टीभी र रेडियोमा अरूका समाचार पढ्दै सुन्दै हुर्किएकी प्रतिमालाई आफैँ समाचार बन्दा कस्तो भयो ?

‘साथीहरूसँगै क्लासमा थिएँ, सर क्लासमा आउनुभयो र पत्रिका देखाउँदै प्रतिमाको नाम पत्रिका आयो भन्नुभयो। सुरुमा लाज पनि लाग्यो र खुसी पनि। लाज–लाज टाइपको प्राउड फियो भयो।’ त्यो क्षण सम्झँदा अहिले पनि लाज लाग्ने उनी बताउँछिन्।

गल्फर प्रतिमा शेर्पा।

आफ्नै फोटो नचिन्दा...

प्रतिमासँग आफ्ना रमाइला किस्सा त्यति धेरै छैनन्, केही छन् ती उनी कहिल्यै बिर्सन सक्दिनन्। ११ कक्षामा पढ्दा एउटा किस्सा सम्झिँदा उनी अहिले पनि हाँसो रोक्न सक्दिनन्।

‘म ११ कक्षामा पढ्दै थिएँ। एक दिन कलेज जाँदै थिएँ, पेन्सिल किन्न पसलमा छिरेँ। पसलमा पत्रिकाहरू झुन्डिरहेका थिए, एउटामा मेरैजस्तो अनुहार भएको फोटो थियो। सँगै हुनुभएको दाइलाई त्यो फोटो देखाउँदै ‘कस्तो मजस्तै र’छ है भनेँ।’ दाइले तिम्रै फोटो हैन भनेपछि झसंग भएँ। आफ्नै फोटो चिन्न सकिनँ,’ हाँसो मिश्रित स्वरमा उनी बोलिन्, ‘त्यसपछि एक्कासी त्यो पत्रिका देखाउँदै ‘मेरो फोटो आएछ भनेर’ देखाउँदै उफ्रिएँ। मेरो खुसीको सीमा नै थिएन।’ त्यो पत्रिका ममी–बाबालाई देखाउँदा एदकमै प्राउड फिल भएको उनले बताइन्।

गल्फलाई जनस्तरमा चिनाउने चाहना

पढाइसँगै अमेरिकामा गल्फ सिकिरहेकी प्रतिमाको उद्देश्य खेलेर सफलता हात पार्नु मात्र छैन, आफूसँगै नेपाली गल्फको विकास पनि गर्नुछ। उनी आम मानिसमा गल्फ पनि एउटा खेल भन्ने चिनाउन चाहन्छिन्।

‘नेपालमा धेरैलाई अहिले पनि गल्फका बारेमा थाहा नै छैन। जसरी फुटबल र क्रिकेटका बारेमा सबैलाई थाहा छ, गल्फलाई पनि जनस्तरमा चिनाउने लक्ष्य छ,’ प्रतिमा भन्छिन्, ‘सर्वप्रथम हामीले अभिभावकलाई यसबारेमा जानकारी गराउनु पर्नेछ, अभिभावकलाई गल्फका विषयमा थाहा भएपछि उहाँले आफ्ना बालबच्चालाई यसमा लाग्न प्रेरित गर्न सक्नुहुन्छ। अनि मात्र गल्फको विकास हुन्छ।’

‘आम मानिसले गल्फ पनि एउटा खेल भन्ने बुझिसकेपछि यसलाई अफोर्ड गर्न सक्नेहरूले खेल्न पठाउनुहुन्छ। नसक्नेहरूका लागि पनि गल्फ खेल्न केही मौकाहरू छन्,’ उनले नेपालको गल्फ विकासको आफ्नो योजना सुनाइन्, ‘जस्तो– रोयल नेपाल गल्फ क्लबमा प्रशिक्षक सचिन भट्टराईले जुनियर खेलाडीहरूका लागि निःशुल्क क्याम्प चलाइरहनुभएको छ। इच्छा भएर पनि गल्फमा अफोर्ड गर्न नसक्नेहरूले त्यसमा सहभागी हुन सक्नुहुन्छ।’

गल्फको विकासका लागि पहिलो काम नै जनस्तरमा चेतना जगाउनु भएको उनको धारणा छ। ‘जनस्तरमा गल्फ पनि एउटा खेल हो है भन्ने भएपछि यसमा लाग्नेहरू विस्तारै बढ्छन्। सँगै सरकारी सहयोग पनि अपरिहार्य छ,’ प्रतिमा भन्छिन्।

नेपालमा मान्छेहरूले गल्फलाई नै भनेर त्यति फोकस नदिएको प्रतिमाको गुनासो छ। प्रतियोगिताहरू निकै कम हुने गरेकाले खेलाडी कम उत्पादन भएको उनी बताउँछिन्। प्रतिमा भन्छिन्, ‘धेरै प्रतियोगिता गर्ने भनेको सूर्य नेपालले हो। प्रतियोगिता पनि त्यति धेरै हुँदैनन् र पैसा पनि धेरै हुँदैन, त्यसैले गल्फलाई पेशाभन्दा सोखका रूपमा मात्र लिइन्छ।’

सरकारको सहयोग भयो भने नेपालमा गल्फको भविष्य राम्रो देखेकी छन्, प्रतिमाले। ‘अहिले नेपालमा ३०–३१ जना प्रोफेसनल गल्फर होलान्। खेलेर मात्र बाँच्न गाह्रो छ, प्रोफेसनलले पनि बाहिर काम गर्नैपर्छ। त्यसैले उनीहरूले चाहेर पनि गल्फमा समय दिन सकिरहेका छैनन्,’ उनले दुःखेसो गरिन्। भन्छिन्, ‘प्रोफेसनल खेलाडी त भनिन्छ, तर खासमा त्यस्तो छैन। बाहिरचाहिँ प्रोफेसनल खेलाडीको छुट्टै महत्व हुन्छ, उनीहरूलाई त्यत्तिकै रेस्पेक्ट पनि गरिन्छ। उनीहरूलाई सपोर्ट पनि त्यहीअनुसारको हुन्छ।’

गल्फको विकासका लागि कोर्सको मात्र होइन, सरकारले उत्तिकै भूमिका हुने प्रतिमा बताउँछिन्। सरकारका मान्छेहरूले गल्फ खेले पनि गल्फको विकास ध्यान नदिँदा प्रतिमा खिन्न छिन्। भन्छिन्, ‘सरकारका मान्छेहरू पनि खेल्न त आउनुहुन्छ, तर उहाँले गल्फको विकास केही नै गर्नु हुन्न, त्यो देख्दाचाहिँ दुःख लाग्छ। सरकारले अलिकति मात्र सहयोग गर्ने हो भने खेलाडी गल्फ खेलेरै बाँच्न सक्छन्।’

अब तीन वर्षजति मात्र अमेरिका बस्ने उनको योजना छ। भन्छिन्, ‘लगभग दुई वर्षमा पढाइ सकिन्छ। त्यसपछि एक वर्षजति उतै बस्छु, त्यहाँको गल्र्फ कोर्समा अभ्यास गर्ने र त्यहाँका कोचसँग सिक्ने योजना छ, त्यहाँको एक्सपेरियन्स लिने मन छ। त्यसपछि नेपालमै फर्कन्छु, र त्यहाँ सिकेका कुरा यहाँ लागू गर्छु।’

०००

जनवरी २०१९ मा अमेरिका गएकी प्रतिमा दुई वर्षपछि गत जनवरीमा नेपाल फर्किइन्। दुई वर्षपछि स्वदेश फर्किँदा उनी एक्साइटेड सँगै नर्भस पनि थिइन्। ‘ला मलाई मान्छेहरूले चिन्नु हुन्छ र भन्नेजस्तो भा’को थियो। आफैँलाई को नयाँ मान्छेजस्तो फिल भयो,’ उनी भन्छिन्।

सुरुमा आफ्नो होम कोर्स रोयल नेपाल गल्फ क्लबको रेन्च जान धकाइन्, प्रतिमा। ‘कसैले केही भनिपो हाल्छन् कि जस्तो लाग्थ्यो। तर, अहिले सबैजनाले माया गर्नुभएको छ, आहो प्रतिमा आइछ भन्नुहुन्छ, कति धेरै स्वागत गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ,’ प्रतिमा भन्छिन्, ‘उहाँहरूको हाँसो नै प्यारो लाग्छ, त्यही हाँसोले नै उहाँहरूले मलाई बिर्सनुभएको छैन भन्ने लाग्छ।’

‘अब त यहीँ बानी परिसकेँ, अमेरिका गएर आएको हुँ भन्ने पनि लाग्दैन,’ उनी भन्छिन्।

०००

नेपालमा अहिले रोयल नेपाल गल्फ क्लब, गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लब, हिमालयन गल्फ कोर्स पोखरा, धरान र आर्मी गरी पाँचवटा छन्। तीमध्ये आर्मी र धरानबाहेक सबै कोर्समा प्रतिमाले खेलेकी छन्। आर्मी र धरानमा खासै प्रतियोगिता आयोजना नहुनाले पनि उनले खेल्ने मौका नपाएकी हुन्।

प्रतिमाले नेपालमै ६० भन्दा बढी प्रतियोगिता खेलिसकिन्। ट्याक्कै याद नभएपछि ३५÷३६ वटाजति प्रतियोगितामा उनी विजयी भएकी छन्। तीमध्ये अधिकांश प्रतियोगिता रोयल नेपाल र गोकर्णमै थिए भने केही पोखरामा।

यी तीन गल्फ कोर्समध्ये प्रतिमालाई सबैभन्दा बढी हिमालयन गल्फ कोर्स पोखरा मन पर्छ। त्यहाँ खेल्दा छुट्टै आनन्द मिल्ने उनले अनुभव गरेकी छन्।

‘पोखराको हिमालयन गल्फ कोर्स एकदमै युनिक छ। एकदमै आत्तिने खालको छ, कहाँ हान्ने कहाँ हान्ने हुन्छ,’ प्रतिमा भन्छिन्, ‘मेन्टेन त राम्रोसँग भएको छैन, त्यसैले घाँस त्यति राम्रो छैन। सायद त्यहाँको घाँस पनि त्यस्तै भएर होला। तर, त्यहाँ खेल्न एकदमै च्यालेन्जिङ छ। खेलिराख्दा आफ्नै अगाडि हिमाल देख्दा छुट्टै आनन्द आउँछ, मनै रोमाञ्चित हुन्छ।’

०००

गल्फ खेल्न प्रतिमालाई सानैदेखि उनकी ममीले सपोर्ट गरिन्। दुवैजना गल्फ कोर्समै काम गर्ने भए पनि सुरुमा ममीले मात्र सपोर्ट गरेकी थिइन्। ‘ममीचाहिँ ठूला मान्छेहरूसँग चिनजान हुन्छ, पछि जागिर पाउन सजिलो हुन्छ गल्फ छोड्नु हुन्न भन्नुहुन्थ्यो। बाबाचाहिँ गल्फ रमाइलोका लागि मात्र खेल्ने हो, यसमा केही हुन्न, पढाइ मात्र बिग्रिन्छ, पढाइमा लाग भन्नुहुन्यो,’ प्रतिमा भन्छिन्।

स्कुलबाट आउनेबित्तिकै झोला राखेर ड्रेसमै खेल्न जाने, ६ बजेतिर मात्र घर आउने। फेरि बिहानै खेल्न जाने उनको रुटिनजस्तै थियो। त्यसैले बाबाले पढाइ बिग्रन्छ भनेर गल्फ खेल्न सपोर्ट नगरेको उनले बताइन्। तर, अहिले बाबाको पनि सपोर्ट पाएकी छन् प्रतिमाले।

सुरुमा बाबाले सपोर्ट गरेपछि उहाँ सही नै हुनुहुन्थ्यो भन्ने लाग्छ प्रतिमालाई आजकाल। अहिले प्रतिमाको प्रगतिमा सबैभन्दा बढी खुसी उनका बाबा नै देखिन्छन्। ‘अहिले बाबाले आफू त्यसबेला गलत थिएँ भनेर स्वीकार्नुभएको छ। तर, पूर्ण रूपमा चाहिँ आफू गलत थिइनँ भन्ने उहाँमा छ,’ प्रतिमा भन्छिन् ‘भर्खरै मात्र बाबाले मलाई ‘त्यसबेला म गलत छु जस्तो त तँलाई लागेको छैन नि है भन्दै प्रश्न गर्नुभयो। अहिले त एकदमै सपोर्ट गर्नुहुन्छ, केही काम गर्न लागेँ भने होइन, होइन खेल्न जाऊ भन्नुहुन्छ।’

०००

‘के गल्फ धनीहरूले मात्र खेल्ने खेल हो ?’ हामीले अन्तिम प्रश्न प्रतिमालाई गर्‍यौँ।

‘तपाईंहरूले जस्तै, मलाई धेरैले यो प्रश्न सोध्नुहुन्छ। मेरो उद्देश्य नै यो प्रश्नलाई गलत सावित गर्ने हो। त्यसैले म भन्छु– तपाईंहरू गलत मानिसलाई प्रश्न गरिरहनुभएको छ,’ प्रतिमाले प्रष्ट्याइन्। गल्फ महँगो नै भए पनि यसमा अवसर पनि रहेको उनको तर्क छ।

कुराकानी सकिएपछि हामी उठ्यौँ। गल्फ क्लब बोकेर प्रतिमा रेन्जतिर अगाडि बढिन्, हामी उनको पछि लाग्यौँ।
 
रेन्ज पुग्नै लाग्दा प्रश्न गर्‍यौँ– यो क्लबको चाहिँ कति पर्छ ?

‘मैलेचाहिँ २३ सय डरलमा किनेको,’ प्रतिमाले सहजै जवाफ दिइन्।

हामी केही आश्चर्यमा पर्‍यौँ।

उनी फेरि बोलिन्, ‘नेपालमा प्रायःले सेकेन्डह्यान्ट किन्छन्, त्यही ५० हजारजति पर्छ।’

हामी अगाडि बढ्यौँ।

‘खासमा गल्फ महँगै खेल हो होइन त?’ प्रतिमाले हाँस्दै भनिन्।

हामी रेन्जमा पुग्यौँ। त्यहीँ रहेका प्रशिक्षक सचिन भट्टराईसँग प्रतिमाले हाम्रो परिचय गराइन्।

त्यसपछि हामी बिदा लिँदै उकालो लाग्यौँ।

Published Date: Sunday, 28th February 2021 12:04:00 pm