काठमाडौं, फागुन १ : गत शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्‍ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। आईसिसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो त्रिकोणात्मक सिरिजको तयारीका लागि थालिएको बन्द प्रशिक्षणमा २१ खेलाडी छन्। तीमध्ये एक हुन्, पृथु बाँस्कोटा। २१ खेलाडीमध्ये सबैभन्दा धेरै खुसी पनि उनै पृथु छन्। खुसी नहुन् पनि किन, जो ६ वर्षपछि राष्‍ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन पाएका छन्। र, राष्‍ट्रिय टोलीमा कमब्याकको संघारमा छन्।

‘धेरैपछि राष्‍ट्रिय प्रतियोगिता पनि भयो, त्यसमा राम्रो प्रदर्शन गर्न सकेँ धेरै खुसी छु,’ उनले आफ्नो हर्ष बाँडे, ‘त्यसभन्दा बढी खुसी ६ वर्षपछि राष्‍ट्रिय टिममा फर्किने ढोका खुलेकोमा छु। त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिममा परेको छु, ज्यादै खुसी छु।’

पृथुको राष्‍ट्रिय टोलीमा पुनरागमनको ढोका खुल्नुमा उनको निरन्तरको मिहिनेतको जति भूमिका छ, त्यति नै भर्खरै सम्पन्‍न प्रधानमन्त्री कप एकदिवसीय राष्‍ट्रिय प्रतियोगिताको पनि छ। सायद प्रधानमन्त्री कप क्रिकेट नहुँदो हो त पृथु बालुवाटार क्रिकेट क्लबमै ब्याट चलाइरहेका हुन्थे।

प्रधानमन्त्री कपका लिग चरणमा पृथुको ब्याट गज्जबले चल्यो। उनले दुई अर्धशतक पनि बनाए र वागमती प्रदेशलाई सेमिफाइनलसम्मको यात्रा तय गराए। पाँच खेलमा दुई सय १५ रन बनाएका उनी प्रतियोगिताका उत्कृष्‍ट ब्याट्सम्यान पनि घोषित भए।

‘व्यक्तिगत प्रदर्शन राम्रो भयो, सँगै टिमको प्रदर्शन पनि। हामी सेमिफाइनलसम्म पुग्यौँ। टिमलाई मबाट जस्तो अपेक्षा थियो, लिग चरणमा त्यो पूरा गरेँ। तर, सेमिफाइनलमा हामी चुक्यौँ, म पनि चुकेँ। त्यसमा केही खल्लो लागिरहेको छ। मेरो रणनीति नै क्रिजमा टिक्ने थियो, भलै टिम त्यति सफल भएन, तर म आफ्नो रणानीतिमा सफल भएँ,’ प्रधानमन्त्री कपमा आफ्नै प्रदर्शनको मूल्यांकन गरे पृथुले।

प्रधानमन्त्रीकपमा पृथुले नयाँ अनुभव पनि बटुले। पहिला जुनियर खेलाडीका रूपमा क्रिकेटमा जमेका पृथु यसपटकको प्रधानमन्त्री कपमा वागमती प्रदेशको टिममा सिनियर खेलाडी थिए, सँगै उपकप्तान पनि। ‘धेरै युवा खेलाडीसँग खेल्न पाएँ, त्यसकारण पनि खुसी छु। पहिला आफू युवा भएर सिनियरहरूसँग खेलिन्थ्यो, अहिले आफू सिनियर भएर युवा खेलाडीसँग खेल्न पाएँ। युवा खेलाडीहरूलाई गाइड गर्न पाउँदा छुट्टै आनन्द आउँदो रहेछ, नयाँ अनुभव पनि भयो। यसले क्रिकेटमा समर्पित ऊर्जा मिल्यो,’ उनले अनुभव साटे।

करिब एक दशक नेपालको प्रतिनिधित्व गरिसकेका पृथुमा नेपालको जर्सी लगाएर मैदानमा उत्रिने भोक अझै छ। त्यसैले उनी राष्‍ट्रिय टिममा कमब्याकका लागि मिहिनेत गरिरहेका छन्। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनपछि उनी कमब्याक हुनेमा ढुक्क छन्। भन्छन्, ‘अहिले जो पनि क्रिकेट खेलिरहेका छन्, उनीहरूको मुख्य ध्येय नै राष्‍ट्रिय टिमबाट खेल्नु हो। मलाई पनि राष्‍ट्रिय टिममा पुनरागमन गर्छु भन्‍ने आशा छ, अहिले त्रिकोणात्मक सिरिजको प्रारम्भिक टिममा पनि परेको छु। सायद कमब्याक चाँडै हुनेछ।’

राष्‍ट्रिय टिममा ग्याप भए पनि पृथुले क्रिकेट भने छाडेका थिएनन्, बालुवाटार क्रिकेट क्लबमा अभ्यास गरिरहेकै थिए। कोभिड-१९ का कारण भएको लकडाउनमा पनि आफूलाई फिट राख्न नियमित जिम गरिरहेका थिए।

राष्‍ट्रिय टिममा ग्याप भए पनि पृथुले क्रिकेट भने छाडेका थिएनन्, बालुवाटार क्रिकेट क्लबमा अभ्यास गरिरहेकै थिए। कोभिड-१९ का कारण भएको लकडाउनमा पनि आफूलाई फिट राख्न नियमित जिम गरिरहेको उनले बताए। ‘मानसिक रूपमा क्रिकेटका लागि तयार थिएँ, प्रधानमन्त्री कपको जिल्लास्तरीय छनोट पनि खेलेँ, त्यसले पनि आत्मविश्वास बढायो, मैदानमा अभ्यस्त पनि भइयो। त्यसैले प्रधानमन्त्री कपमा राम्रो गर्छु नै भन्‍ने थियो, त्यो भयो पनि। टिमको अवस्थाअनुसार खेल्ने भन्‍ने थियो, त्यहीअनुसार खेल्न सकेँ, खुसी छु,’ पृथु भन्छन्।

चोटको पीडा भुल्ने चाह

क्रिकेट करिअरमा पृथुले जति सुखानुभूति गरे, त्यति नै दुःख पनि आत्मसात गरे। त्यसैले उनको क्रिकेट करिअर दुःख र सुख दुवैबाट भरिपूर्ण छ। सन् २००६ देखि करिब एक दशक उनले राष्‍ट्रका लागि खेले, त्यसयताका ६ वर्ष चोटका कारण मैदानबाहिर रहे।

एसीसी यू-१५ उपाधि, डिभिजन-३ उपाधि र यू-१९ विश्वकपमा नेपालको नेतृत्व गरेका पृथु पछिल्ला ६ वर्षमा नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धिमा बाहिरै रहेर साक्षी मात्र बने। सन् २०१४ को टी-२० विश्वकप गुमाएका उनले एकदिवसीय मान्यता पाउँदा पनि टिमको हिस्सा बन्‍न पाएनन्, यी सबैमा चोट नै बाधक बन्यो। त्यसैले पृथुलाई नेपाली क्रिकेटमा अभागी क्रिकेटरका रूपमा लिइन्छ।

चोटले आफूलाई सताए पनि उनले त्यसलाई सामान्य रूपमा लिएका छन्। खेलाडी भएपछि चोटलाई सहजै लिनुपर्ने तर्क उनको छ। तथापि, उनलाई त्यो पीडा भुल्न त्यति सहज भने भएन। ‘इन्जुरी खेलको एउटा पाटो पनि हो। इन्जुरी जसलाई पनि हुन्छ, तर मचाहिँ गलत समयमा घाइते भएँजस्तो लाग्छ,’ उनी भन्छन्। चोटको पीडा लुकाउन खोज्दा पनि त्यो उनको अनुहारमा प्रष्‍ट झल्किन्थ्यो।

विगतलाई भुलेर अगाडि बढ्ने अठोट गरेका पृथुले ती दिन फेरि सम्झिए। ‘सम्झन मन त छैन, तर आफ्नो कुरा भनिरहँदा चोटले गलाएका दिनहरूको सम्झना आनायासै आउने रहेछ,’ उनी भन्छन्।

‘यसलाई के भन्‍ने नियति या दुर्भाग्य ?’ पृथुले प्रतिप्रश्न गरे। फेरि उनले भन्‍ने सुरु गरे, ‘चोटका कारण बेहोर्नुपरेको समस्या बेग्लै छ। हुन त, खेलाडी भएपछि चोटलाई स्वीकार्नुपर्छ। तर, चोट पनि एकपटक मात्रै होइन, पटक-पटक हुँदा धेरै समस्या भयो। घुँडाको चोट बल्झियो, औँला भाँच्चियो, अप्रेसन पनि सोचेजस्तो हुन सकेन। कहिलेकाहीँ त लाग्छ, किन मलाई नै पटक-पटक चोटले सताएको होला?’

‘सायद यो मेरो दुर्भाग्य होला,’ आफ्नो प्रश्नको उत्तर उनले आफैँ दिए। ‘जे नहुनु भयो र त्यसलाई स्वीकार गर्नैपर्छ। विगतलाई कोट्याउनुभन्दा अगाडिको बाटो हेरेको छु,’ उनी भन्छन्, ‘किनभने अझै कमब्याक गर्ने अवसर छ। प्रधानमन्त्री कपमा राम्रो गर्न सकेँ, राष्‍ट्रिय टिमको क्लोज क्याम्पमा परेको छु। अवसर पाउँदा फेरि प्रमाणित गरेर देखाउँछु।’

चोटले टिमभन्दा बाहिर बस्दा उनलाई जति पीडा भयो, त्यसभन्दा बढी घाइते भएपछि कसैले वास्ता नगर्दा भयो। ‘एक दशक देशका लागि खेलेको मान्छे, लामो सयम मैदानबाहिर रहँदा नराम्रो त अवश्य नै लागिहाल्छ,’ पृथु भन्छन्, ‘घाइते भएर टिमबाट बाहिरिनेबित्तिकै कसैले वास्ता गरेन, कसैले यसले देशका लागि गरेको छ है भनेर सहयोग गरेको भए, सायद चाँडै टिममा फर्कन सक्थेँ होला। मलाई पनि खुसी लाग्थ्यो होला, तर त्यस्तो हुन सकेन।’

यो व्यवहारले हतोत्साही बनायो उनलाई। ‘देशका लागि झण्डै १० वर्ष खेलियो, तर घाइते भएर बाहिर बस्दा कसैले वास्ता नगर्दा नरमाइलो लाग्दो रहेछ। क्रिकेटमा मात्र होइन, जसलाई पनि यस्तो हुन्छ, नेपालको सन्दर्भमा। घरबाट पनि अब नखेल भन्‍ने कुरा गर्नुभयो। तर, म क्रिकेट छाड्न सक्ने अवस्थामा थिइनँ, किनभने मैले जानेकै क्रिकेट खेल्न हो। घाइते हुँदैमा क्रिकेटलाई कसरी छाड्न सक्छु,’ गुनासोसँगै क्रिकेटप्रति समर्पण दर्साए पृथुले।

खेलाडीलाई हुने चोटको पीडाको ठूलो अनुभव बटुलेका छन्, उनले। खेलाडी घाइते भएपछि कसैले वास्ता नगर्दा कमब्याक गर्न कठिन भएको उनको बुझाइ छ। भन्छन्, ‘यहाँ खेलुन्जेल मात्र हो, घाइते भएपछि कसैले सोध्दैनन्, अरू देशमा यस्तो हुँदैन, खेलाडीको विशेष स्याहार गरिन्छ। यहाँ सरकारले पनि वास्ता गर्दैन। त्यसैले एउटा खेलाडी घाइते भएपछि कमब्याक गर्न निकै गाह्रो हुन्छ।’

अझ नेपालमा क्रिकेटका धेरै प्रतियोगिता नहुने हुँदा घाइते भएका क्रिकेटरलाई कमब्याक गर्न अझ कठिन भएको उनी बताउँछन्। भन्छन्, ‘लामो सयम मैदानबाहिर रहेपछि १-२ वटा गेम खेलेरै मात्र राम्रो प्रदर्शन गर्न सकिँदैन।’

चोटको शृंखला

सन् २०१४ मा बंगलादेशमा सम्पन्‍न टी-२० विश्वकप छनोटका लागि सन् २०१३ मा भएको क्लोज क्याम्पमा पृथु पनि थिए। तर, पहिलो दिन नै उनी घाइते भए र क्याम्प छाडे। उनले क्याम्प मात्र छाडेनन्, विश्वकप छनोट पनि गुमाए। क्याम्पको पहिलो दिन वार्मअपमा फुटबल खेल्दा उनको खुट्टा फर्किएको थियो। उनको लिगामेन्ट च्यातिएको थियो, उपचारपछि दुई महिनामा ठीक भए।

पृथु ठीक हुँदा नेपाली टिम विश्वकपमा छनोट भएर फर्किसकेको थियो। लगत्तै सन् २०१५ को एकदिवसीय विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु भयो, उनी टिममा परे। त्यसपछि उनले न्युजिल्यान्डमा विश्वकप छनोटमा खेले। खराब प्रदर्शनपछि नेपाल डिभिजन-३ मा झर्‍यो, युगान्डासँगको अन्तिम खेलमा रन लिने क्रममा शरद भेषावकरसँग ठोक्किएपछि ‘रिटायड हर्ट’ हुँदै पृथुले मैदान छाडे। उनको घुँडामा चोट लागेको थियो, अप्रेसन गर्नुपर्ने भयो। नेपाली टिम विश्वकप खेल्न बंगलादेशतर्फ लाग्यो, पृथु भने अस्ट्रेलिया लागे, घुँडाको अप्रेसन गर्न। त्यसपछि १५ महिना मैदानसँगको उनको सम्बन्ध टुट्यो।

घुँडाको चोट ठीक भएको केही समयमै पृथुले इंग्ल्यान्डमा केन्ट क्रिकेट लिग खेल्ने अवसर पाए। त्यहाँ राम्रो प्रदर्शन गरेपछि राष्‍ट्रिय टिममा उनको कमब्याक भयो, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डसँगको खेलमार्फत्। स्कटल्यान्डपछि पपुवा न्युगिनीविद्ध खेल्न उनी यूएई गए। तर, खेलअघि नै उनको देब्रे हातको चोरी औँला भाँचियो। त्यो चोटले  पृथुलाई डेढ वर्ष मैदानबाहिर राख्यो।

‘औँलाको चोटले डेढ वर्ष सतायो। राम्रो फिजियो पनि पाउन सकिनँ, बाहिर उपचार गराउने कुरा पनि भएको थियो, तर जान सकिएन। ग्रान्डीमा अपरेसन त गरेँ, त्यो सफल हुन सकेन,’ अप्रेसन बिग्रिएर बांगिएको औँला देखाउँदै उनले भने, ‘अहिले ठीक छ, अब मज्जाले खेल्न सक्छु।’

टिमको सफलताले मिहिनेत गर्न प्रेरित

पृथुसँग खेल्न नपाएको दुःख त छ, तर उनी टिमले प्राप्त गरेको सफलतामा खुसी छन्। पृथु टिममा नहुँदै नेपालले विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म पायो। आम क्रिकेटप्रेमीजस्तै पृथु पनि मैदानबाहिर रहेर त्यो खुसीमा रमाए।

‘देशले सफलता पाउँदा खुसी नहुने को होला र ? नेपाली क्रिकेटले प्राप्त गरेको सफलतामा म पनि अरू नेपालीजस्तै रमाएँ। मैदानमै नभए पनि आफू टिमसँगै भएको अनुभूति हुन्छ,’ पृथुको अनुहार केही चम्किलो भयो। नेपाली क्रिकेटले जुन सफलता पायो, त्यसले मिहिनेत गर्न उत्प्रेरणा मिलेको उनले ठानेका छन्।

‘आफू बाहिर रहे पनि नेपालले जुन सफलता पायो, त्यसले खुसीसँगै मिहिनेत गर्न पनि प्रेरित गर्‍यो। अझ भनौँ- चोटको पीडा भुलाउन मल्हमको काम गर्‍यो,’ पृथुले भने, ‘त्यही मिहिनेतले आज पुनः राष्‍ट्रिय टिमको क्लोज क्याम्पमा फर्किएको छु।’

नेपालको जितमा पृथु खुसी त भए नै, हारमा दुःखी पनि। उनी भन्छन्, ‘जितमा खेलाडी मात्र होइन, सबै खुसी हुन्छन्। तर, हारेको बेला सबैभन्दा धेरै दुःख लाग्ने खेलाडीलाई नै हो। हामीले एउटा साझेदारी मात्रै बढाउन सकेको भए या एउटा विकेट मात्र लिन सकेको भए जित्थ्यौँजस्तो हुन्छ।’

पटक-पटकको चोटलाई जित्दै राष्‍ट्रिय टिमको क्लोज क्याम्पमा फर्किएका पृथु यतिमै सन्तुष्‍ट भने छैनन्। उनमा देशका लागि अझै धेरै गर्ने इच्छाशक्ति छ। र त, उनले देशको प्रतिनिधित्व गर्दै जिताउने चाहना राखेका छन्। त्यसका लागि मिहिनेत पनि गरिरहेका छन्।

पटक-पटकको चोटलाई जित्दै राष्‍ट्रिय टिमको क्लोज क्याम्पमा फर्किएका पृथु यतिमै सन्तुष्‍ट भने छैनन्। उनमा देशका लागि अझै धेरै गर्ने इच्छाशक्ति छ। र त, उनले देशको प्रतिनिधित्व गर्दै जिताउने चाहना राखेका छन्। त्यसका लागि मिहिनेत पनि गरिरहेका छन्।

सफलताको खुट्किलो उमेरसमूह

सन् २००६ देखि देशका लागि क्रिकेट खेल्न थालेका पृथुलाई नेपाली क्रिकेट टिममा पूर्वकप्तान पारस खड्काको उत्तराधिकारीका रूपमा हेरिएको थियो। सायद त्यो उनले यू-१९ क्रिकेटमा नेपाली टिमको सफल कप्तानी गरेकाले पनि होला। तर, क्रिकेटप्रेमीको त्यो चाहना चोटले पूरा हुन दिएन।

आफ्नै कप्तानीमा नेपाललाई यू-१९ विश्वकपसम्म पुर्‍याएका पृथु आफैँलाई चाहिँ कस्तो लाग्छ त ? उनको जवाफ छ, ‘तपाईंहरूले जस्तो सुन्‍नुभयो मैले पनि त्यस्तै सुनेको छु। तर, कहिल्यै नेपालको कप्तानी गर्छु भनेर क्रिकेट खेलिनँ, नेपाललाई प्रतिनिधित्व गर्र्दै खेलिरहन्छु भन्‍ने थियो, मैदानमा राम्रो गर्नुथियो, नेपाललाई जिताउनु थियो। कप्तान हुने नहुने भन्‍ने कुरा पछिको मात्र थियो। त्यसैले यो विषय खासै ध्यान गएन। टिमको नेतृत्व गर्नु-नगर्नुभन्दा पनि नेपालका लागि खेल्नु नै ठूलो कुरा हो।’

उमेरसमूहमा राष्‍ट्रिय टिमको कप्तान बनेर देशलाई जिताउन पाउँदा छुट्टै सन्तुष्‍टि मिलेको अनुभव उनको छ। उमेरसमूहमा उनले जुन उपलब्धी हासिल गरे, त्यसैले पृथुलाई राष्‍ट्रिय टिमसम्म डोर्‍यायो। उनी भन्छन्, ‘उमेरसमूहमा राम्रो गरेकैले चाँडै सिनियर टिममा खेल्न पाएँ। राष्‍ट्रिय टिमको नेतृत्व नगरे पनि सिरियर टिममा प्राप्त उपलब्धी पनि सामान्य भने होइनन्।’

क्राउडमा खेल्ने धित

नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउन खेलाडीका रूपमा पृथुको पनि योगदान छ। अघिल्लो वर्ष नेपालले घरमै एकदिवसीय सिरिज खेल्यो। पृथुले मैदानमा होइन, दर्शकदीर्घामा रहेर खेल हेरे। पृथुले त्यो क्राउडलाई अहिले पनि मिस गरिरहेका छन्।

‘नेपाली दर्शकबीच थुप्र्रै खेलियो, अहिले त्यसलाई मिस गरिरहेको छु। क्राउडमा खेल्ने धित भने मरेको छैन,’ पृथु भन्छन्, ‘त्यसैले मिहिनेत गरिरहेको छु। फिल्डमा हुनु र बाहिर बसेर हेर्नुमा धेरै फरक छ।’ दर्शककै रूपमा रहे पनि नेपालको खेल हेर्दा उनलाई आनन्द आउँछ। ‘त्यो नेपाली क्रिकेटप्रतिको मायाले होला,’ उनी भन्छन्।

नेपालका लागि एक दशक खेले पनि पृथुको एउटा चाहना अझै पूरा भएको छैन। त्यो हो- एकदिवसीय क्रिकेट खेल्ने। नेपालले एकदिवसीय मान्यता पाउनुअघि नै पृथु चोटका कारण नेपाली टिमबाट बाहिरिसकेका थिए। ‘अब एकदिवसीय क्रिकेट खेल्ने मन छ। मेरो मात्र होइन, क्रिकेटमा लागेका सबैको चाहना हुन्छ,’ उनी भन्छन्, ‘अझ राष्‍ट्रिय टिममा खेलिरहँदा घाइते भएर बाहिर बस्नुपरेकाले ममा त्यो चाहना धेरै छ। त्यसैले देशका लागि खेल्न मिहिनेत गरिरहेको छु।’

पृथुका खुसीका ती क्षण

सन् २००६ मा मलेसियामा एसीसी यू-१५ एलिट कप (दुई दिवसीय) जित्दाको त्यो क्षण सम्झँदा पृथु अहिले पनि त्यतिबेला जति नै खुसी हुन्छन्। ‘हामीले फाइलनमा यूएईलाई हराएका थियौँ। त्यतिबेला म सानै थिएँ, पहिलोपटक क्रिकेट खेल्न विदेश गएको थिएँ। मैले राम्रो गरेको थिएँ, धेरैले अझै राम्रो गर्नु भन्दै हौसला र माया दिनुभयो,’ उनले त्यो क्षण सम्झिए।

सन् २०१२ मा मलेसियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ र सन् २०१३ मा बर्मुडामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जित्दाको क्षण पनि उनले सम्भिए। बर्मुडामा जितेको डिभिजन-३ को उपाधि पृथुलाई अझ विशेष लाग्छ। त्यो क्षण अझै पनि उनको मानसपटलमा ताजै छ।

‘त्यो उपाधि किन विशेष छ भने हामीले सुरुआती दुई खेल गुमाएका थियौँ, हाम्रो ध्यान रेलिगेसनबाट बच्ने थियो। तर, विस्तारै राम्रो प्रदर्शन गर्न सफल भयौँ। र, उपाधि नै जित्यौँ। एक हिसाबले त्यो अनएक्स्पेक्टेड थियो। अरू एक खेलमा मात्र हारेको भए हामी दुई वर्षपछि धकेलिने थियौँ। त्यसले हामीलाई डरसँगै कन्सस पनि बनायो।’

आयरल्यान्डमा भएको यू-१९ विश्वकप छनोट पनि उनका लागि यादगार नै छ। विश्वकप छनोटमा नेपाली टिमको नेतृत्व पृथुले नै गरेकाले उनको लागि त्यो विशेष महत्वको थियो। ‘आयरल्यान्डमा भएको छनोटमा दोस्रो भएपछि हामी विश्वकपका लागि छानिएका थियौँ। अघिल्लो विश्वकप मिस भएकाले पनि हाम्रा लागि त्यो निकै महत्वपूर्ण थियो। सन् २०१२ मा यू-१९ विश्वकप पनि खेल्यौँ, विश्वकपमा कप्तानी गर्ने मौका पाएँ तर हामीले राम्रो प्रदर्शन गर्न सकेनौँ। व्यक्तिगत र टिमका रूपमा पनि हामी असफल भयौँ,’ पृथुले यू-१९ विश्वकपको सम्झना गरे।

त्यो विश्वकप यात्रा आफू र टिमका अन्य सदस्यका लागि धेरै कुरा सिक्ने अवसर भएको उनले बताए। त्यो टिमका धेरै खेलाडी राष्‍ट्रिय टिमबाट खेले, कति अहिले पनि छन्। त्यसबेला यू-१९ मा गरेको प्रदर्शनकै आधारमा राष्‍ट्रिय टिमको ढोका खुल्थ्यो।

त्यो टिम र यो टिम

‘त्यसबेलाको नेपाली टिम र अहिलेको नेपाली टिममा धेरै फरक छ। फरक हुनु स्वाभाविक पनि हो। अहिले राष्‍ट्रिय टिममा पर्न धेरै प्रतिस्पर्धा बढेको छ, ब्याकअप खेलाडी पनि धेरै छन्। नयाँ खेलाडीले मौका पनि पाएका छन्,’ पृथु भन्छन्, ‘अहिले टिममा युवा खेलाडीको बाहुल्य छ, त्यसले टिमलाई राम्रो पनि गरिरहेको छ। टिममा पर्न जति प्रतिस्पर्धा भयो, टिम त्यति नै बलियो हुन्छ।’ त्यतिखेर र अहिले १० वर्ष ग्याप भइसकेकाले टिममा फेदबदल हुनु स्वाभाविक भएको उनको ठम्याइ छ।

नजिकै आईसीसी विश्वकप लिग-२ का सिरिजहरू पनि आइरहेका छन्, त्यो नेपालका लागि निकै महत्वपूर्ण छ। नेपालका लागि एकदिवसीय मान्यता जोगाउने र विश्वकप खेल्ने अवसरका रूपमा रहेको आईसीसी विश्वकप लिग-२ महत्वपूर्ण रहेको उनी बताउँछन्।

नजिकै आईसीसी विश्वकप लिग-२ का सिरिजहरू पनि आइरहेका छन्, त्यो नेपालका लागि निकै महत्वपूर्ण छ। नेपालका लागि एकदिवसीय मान्यता जोगाउने र विश्वकप खेल्ने अवसरका रूपमा रहेको आईसीसी विश्वकप लिग-२ महत्वपूर्ण रहेको उनी बताउँछन्। ‘हामीले हाम्रो ओडीआई स्टाटस जोगाउन सक्छौँ सक्दैनौं भन्‍ने ठूलो कुरा हो। त्यसले एकहदसम्म नेपाली क्रिकेटको भविष्‍य निर्धारण गर्छ,’ पृथु भन्छन्।

बढ्दैछ नेपाली खेलाडीको एक्स्पोजर

कुनै पनि खेलाडी टिममा हुनु-नहुनु उ कत्तिको अनुभवी छ भन्‍ने कुरामा निर्भर हुने विश्लेषण पृथुको छ। राष्‍ट्रिय टिममा प्रतिनिधित्व गर्दै एकैपटक राम्रो खेल्न नसकिने हुनाले टिममा युवालाई भन्दा अनुभवी खेलाडीलाई प्राथमिकता दिइने उनको बुझाइ छ। ‘पर्फमेन्स मात्र भन्दा पनि उसमा क्रिकेटिङ सेन्स कत्तिको छ भन्‍नेमा भर पर्छ। जस्तो- पारस दाइ, ज्ञानु दाइ (ज्ञानेन्द्र मल्ल) र शरद दाइ (शरद भेषावकर)हरूको क्रिकेटिङ सेन्स अर्कै लेभलमा छ,’ उनी भन्छन्, ‘जहिले पनि फर्म एउटै हुँदैन तर चेन्ज भइरह्यो भने खेलाडीमा प्रेसरचाहिँ हुन्छ। मैले पर्फर्म गरिनँ भने अर्कोपटक म टिममा हुन्छ कि हुन्‍न भन्‍ने डर खेलाडीमा हुन्छ।’

त्यो प्रेसर एक प्रकारले फाइदाजनक नै भएको उनी बताउँछन्। ‘त्यो प्रेसरले खेलाडीलाई राम्रो खेल्न दबाबसँगै उत्प्रेरणा दिन्छ, सँगै खेलाडीलाई स्ट्रोङ पनि बनाउँछ,’ उनी भन्छन्, ‘त्यसलाई राम्रो या नराम्रो दुवै तरिकाले लिन सकिन्छ, अब खेलाडीले कसरी लिन्छ, त्यसले उसको भविष्‍य निर्धारण गर्छ।’

घरेलु प्रतियोगितामा राम्रो गरेका खेलाडीलाई राष्‍ट्रिय टिममा बेवास्ता गरेको प्रसंगमा पृथुले भने, ‘घरेलु प्रतियोगितामा राम्रो गर्‍यो भन्दैमा उसले राष्‍ट्रिय टिममा स्थान बनाउनैपर्छ भन्‍ने होइन। प्रमुख कुरा टिम कम्बिनेस हो, त्यसमा ऊ फिट छ कि छैन भन्‍ने पनि हो। बन्द प्रशिक्षणमा उसको प्रदर्शन कस्तो हुन्छ, खेल राम्रो भएर मात्रै ऊ टिममा नपर्न सक्छ, टिममा पर्न सबै पक्ष हेरिन्छ। उसको इन्पुट कस्तो हुन्छ त्यो पनि हेरिन्छ।’

नेपाली क्रिकेटले राम्रो प्रर्दशन नगर्नुमा एक्स्पोजरको कमी भएर हो ? ‘पहिलेभन्दा अहिले क्रिकेटरले धेरै एक्स्पोजर पाएका छन्,’ प्रश्न सकिन नपाउँदै पृथुले जवाफ दिए। वर्षमा ४-५ वटा डोमेस्टिक लिग र स्थानीय प्रतियोगिताहरू भइरहेकाले खेलाडीले एक्स्पोजर पाइरहेको उनको तर्क छ।

पृथुले टी-२० भन्दा पनि ५० ओभरका प्रतियोगितामा जोड दिनुपर्ने पनि बताए। ‘५० ओभरको प्रतियोगिता कम भइरहेको छ। अहिले प्रधानमन्त्री कप र एमएम कप मात्र छन्। हामीले ५० ओभर, दुई दिवसीय र तीन दिवसीय खेलमा जोड दिनुपर्छ। त्यसले खेलाडीको बेसिक राम्रो हुन्छ, त्यसपछि टी-२० पनि आफैँ राम्रो हुन्छ,’ उनले भने।

संचरना नबन्दा दुःखी

नेपालले तीन वर्षअघि एकदिवसीय मान्यता पायो, तर नेपालसँग त्यो स्तरको संरचना छैन। खेल्न योग्य त्रिवि मैदान मात्र हो। यसले क्रिकेट समर्थकलाई मात्रै होइन, पृथुलाई पनि दुःखी बनाएको छ।

‘मूलपानीमा क्रिकेट रंगशाला बन्छ भनेर क्रिकेट सुरु गर्दादेखि सुन्दै आएको छु, अहिले पनि बन्छ मात्र भनिँदैछ। मैदान त बनेको छ तर त्यो क्वालिटीको छैन। खाली एउटा खेल्ने मैदान मात्र छ। क्रिकेटबाट यत्तिका उपलब्धी पाउँदा पनि संरचना निर्माणमा कसैको ध्यान नगएको देख्दा अचम्म लाग्छ,’ पृथुले दुखेसो पोखे, ‘विश्वकप खेलिसक्यौँ, एकदिवसीय मान्यता  पाइसक्यौँ तर पनि एउटा राम्रो क्रिकेट रंगशाला छैन। कीर्तिपुर मैदानकै पनि रेखदेख जुन रूपमा हुनुपर्ने हो भएको छैन।’
 

Published Date: Saturday, 13th February 2021 2:15:00 pm