काठमाडौं, माघ २८ : २१ माघमा बेपत्ता बैतडी दोगडकादार गाउँपालिका-७ चडेपानीकी किशोरी भागीरथी भट्ट (१७ वर्ष) २२ माघमा घर र विद्यालयबीच झाडीमा मृत फेला परिन्। शव परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको पुष्‍टि भएको छ। उनको हत्यामा संलग्‍न पक्राउ परेका छैनन्। सरकारले हत्यारा चाँडै पक्राउ पर्ने र कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।

यसअघि बझाङ मस्टा गाउँपालिका-२ खिकालाकी बालिका सम्झना कामी (१२ वर्ष) को शव ७ असोजमा स्थानीय शिव मन्दिरनजिकै फेला पर्‍यो। स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

सुदूरपश्चिम प्रदेशमै १० साउन ०७५ मा कञ्‍चनपुरकी किशोरी निर्मला पन्त (१३ वर्ष)को बलात्कारपछि हत्या गरियो। घटनाको अढाइ वर्ष बितिसक्दा पनि हत्यारा पक्राउ परेका छैनन्।

यी घटनाले नेपाली समाजमा छोरीलाई बचाउनै गाह्रो हुँदै गएको उजागर गर्छन्। बालिका र किशोरीमाथि निरन्तर भइरहेको हिंसाले नेपाली समाजको अँध्यारो पाटो प्रतिविम्बित गर्छन्। हत्यारा पहिचान र पक्राउ गर्न प्रहरी असफल बनेका निर्मला पन्तको हत्याजस्ता प्रकरणले आफ्नै घर, समाजमा चर्को असुरक्षा महसुस गराउँदै आएका छन्। अधिकांश घटनामा आफन्त र छिमेकीको संलग्नता पाइनु अझ गम्भीर विषय हो।

अझ, बलात्कारमा संलग्न अभियुक्तलाई जोगाउन गाउँ, समाज नै लागिपर्ने गरेका घटना सार्वजनिक भएका छन्। जस्तो- २९ भदौमा सप्तरी डाक्नेश्वरी नगरपालिका-७ की संगीता मण्डल (१७ वर्ष) माथि सामूहिक बलात्कार भयो। पीडित युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् तर गाउँमै पञ्‍चायती बसी युवतीलाई पैसा दिएर घटना लुकाउन खोजियो । प्रहरीले उजुरी लिने चासो नलिएपछि किशोरीले आत्महत्या गरिन्।

यस्तै, १० जेठमा बुटवलकी अंगिरा पासी (१३ वर्ष) माथि बलात्कार भयो। तर, वडाध्यक्षकै रोहवरमा गाउँमा पञ्‍चायती बसी बलात्कारीसँग बिहे गरिदिने निर्णय गरियो। गाउँलेसामु बलात्कारीको जिम्मा लगाइएपछि अंगिरालाई कथित सानो जात बताउँदै परिवारले अस्वीकार गरे। उनी पनि आत्महत्या गर्न बाध्य बनिन्।

नेपालको कानूनले बलात्कारलाई जघन्य अपराध मानेको छ। तर, यति जघन्य अपराधमा संलग्न व्यक्तिलाई पनि कानूनी कारवाहीको साटो जोगाउन लागिपर्ने सामाजिक मनोविज्ञानले यस्ता घटना बढ्न मद्दत पुर्‍याउँदै आएका छन्।

किशोरी निर्मला पन्तको हत्या भएयता प्रहरीमा तीनजना महानिरीक्षक फेरिइसके। हरेकले हत्यारा पत्ता लगाएर कारवाही गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, हत्यारा को हुन्, कहाँ छन् भन्‍ने सुराकसम्म पत्ता लाग्‍न सकेको छैन।

समाजमा दिनानुदिन बलात्कारजस्तो जघन्य अपराध बढ्दा पनि राज्य मौनझैँ देखिन्छ। सार्वजनिक भएका एकाध घटनाबाहेक अधिकांश यौनजन्य अपराध लुक्दै र लुकाइँदै आएका छन्। अपराधको अन्तर्यसम्म पुगेर समुल नष्‍ट गर्ने पहलकदमी लिन राज्य असफल देखिन्छ।

पितृसत्तात्मक समाज र महिलालाई बस्तुको रूपमा जुनसुकै समयमा पनि उपभोग गर्न सकिने भन्‍ने मानसिकताले बलात्कारजस्तो जघन्य अपराधलाई प्रोत्साहन मिलिरहेको मनोविद् करुणा कुँवर बताउँछिन्। यस्तो मानसिकताको अन्त्य नभएसम्म यौनजन्य हिंसा नघट्ने उनको ठम्याइ छ।

‘यस्तो आपराधिक मानसिकता एउटा निश्चित कारणले मात्र नभई धेरै सामाजिक, मानसिक कारणबाट सिर्जना हुन्छन्,’ मनोविद् कुँवर भन्छिन्, ‘समाजमा हावी रहेको पुरुष मनोवृत्ती, पितृसत्ता, आफूभित्र रहेको कुण्ठा र बदलाको भावना, अरूको पीडामा सन्तुष्‍ट हुने मानसिकतालगायत यावत पक्षले मानिसलाई यस्तो अपराधका लागि प्रेरित गर्छन्।’

बालिका र किशोरीमाथि बलात्कार र हत्या मानसिक रोगको उपज भएको उनी बताउँछिन्। भन्छिन्, ‘बलात्कारका अपराधीले प्रमाण नष्‍ट गर्नका लागि हत्याको सहारा लिने प्रवृत्ति बढ्दो छ।’

प्रा. डा. सञ्‍जीव उपे्रती देशको न्यायिक प्रणाली कार्यान्वयनको पाटो कमजोर रहनुलाई पनि यसको कारक मान्छन्। भन्छन्, ‘जहाँ न्यायिक प्रणाली कमजोर हुन्छ, त्यहाँ पीडकमा सजिलै उन्मुक्ति पाइन्छ भन्‍ने मनस्थिति रहन्छ। सोही कारण पछिल्लो समय बलात्कारजन्य घटना बढिरहेका हुन्।’

नेपालमा कानूनी प्रकृयाअनुरूप गरिने अनुसन्धानका रिपोर्टहरू सार्वजनिक नगरिने हुनाले पनि बलात्कारीको मनोबल बढ्न मद्दत गरेको उनी बताउँछन्। भन्छन्, ‘अपराधीले आफूभन्दा कमजोर पक्ष राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक, वर्गीय र जातीय रूपमा तल रहेको मनोविज्ञानका कारण आक्रमण गर्छन्। कानूनी प्रक्रिया फितलो रहेको बुझाइका कारण उनीहरू अपराधका लागि प्रेरित हुन्छन्।’

अपराध गर्दा पनि न्यायिक निकायले केही गर्न सक्दैनन् र सहजै उम्किएर समाजमा खुलेआम स्थापित हुन सकिन्छ भन्‍ने कुसंस्कृतिको विकास तीव्र रूपमा भइरहेको उनको बुझाइ छ।

‘सामाजिक संरचनामा पनि बदलावको खाँचो छ, बलात्कार गर्ने अपराधी खुलेआम हिँडिरहेका छन्। बलात्कृत बनेका कलिला बालिका मारिएका छन्, युवती र महिलाहरू समाजबाटै लुकेर बस्नुपर्ने अवस्था छ,’ उनी भन्छन्। पितृसत्ताबाट सिर्जित अपराधको सजाय बलात्कारमा परेकाहरूले भोगिरहनुपर्ने परिपाटीको अन्त्य नभएसम्म समाजमा यस्तो अपराध कम नहुने उनी बताउँछन्।

नेपाल ल क्याम्पसका उपप्राध्यापक रुकमणी महर्जन यौनजन्य अपराधमा सजाय हुने जानकारी नहुँदा पनि आपराधिक मानसिकता हावी हुन सक्ने आकलन गर्छिन्। नागरिकलाई यो अपराध गरेबापत यस्ता कानूनी कारवाही भोग्नुपर्छ भन्‍ने सामान्य जानकारीसमेत नभएको उनी बताउँछिन्। भन्छिन्, ‘मानिसमा धेरै आक्रोस र रिस छ, बलात्कारको विरोधमा सडकमा प्रदर्शन गर्दा पनि कानूनी निकास निस्किन सकेको छैन्। देशमा कानून छ कि छैन भन्‍ने नै अलमलजस्तो भएको छ।’

घटना भइरहन्छन्, मानिस उफ्रिन्छन्, कराउँछन् अनि सेलाउँछन्- यही मनोवृत्तिले अपराध बढाएको उनको बुझाइ छ। जिम्मेवार पदमा आसिन व्यक्तिहरूका अभिव्यक्ति नै गैरजिम्मेवार रहेको उनी बताउँछिन्। समाजमा दिनानुदिन घटिरहेको जघन्य अपराधलाई बेवास्ता गर्नुले राज्यसत्ता नै महिलाका विषयमा, यौनजन्य हिंसामा र बलात्कारजस्ता अपराधमा संवेदनशील नदेखिने गरेको उनको जिकिर छ।

राज्यले नियम, कानूनबारे तल्लो तहसम्मका जनचेतना नफैलाएसम्म कलिला बालिका बलात्कार र हत्याको शिकार भइरहने उनी बताउँछिन्। ‘कानूनी र न्यायिक प्रक्रिया तथा प्रहरी अनुसन्धान कमजोर नहोस् भनेर पीडित र न्यायको पक्षमा काम गरियो भने यस्ता अपराध कम हुन सक्छन्,’ उनी भन्छिन्।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बलात्कारजन्य करिब ८० प्रतिशत घटना आफन्त र चिनेजानेकै व्यक्तिबाट हुने गरेको बताउँछन्। समाजमा आपराधिक क्रियाकलाप बढ्नुको कारण नैतिक शिक्षाको अभाव रहेको उनको ठम्याइ छ। बालबालिकालाई हुर्काउने तौरतरिकामा परिमार्जन गर्नुपर्ने उनको बुझाइ छ। भन्छन्, ‘बालबालिकालाई गरिने व्यवहारबारे जानकारी दिनुपर्छ, सकारात्मक छुवाइ र नकारात्मक छुवाइबारे जानकारी दिनुपर्छ।’

बलात्कारको विषयमा विद्यालय तहमै शिक्षा दिनुपर्ने र यस्ता घटना न्यूनीकरणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने ठकुरी बताउँछन्।

नेपाल प्रहरीको तथ्यांक हेरौँ। आर्थिक वर्ष ०५३-०५४ देखि ०७६-०७७ सम्मका २४ वर्षमा बलात्कारका १४ हजार ६ सय ३८ घटना भएका छन्। यो तथ्यांक केलाउँदा बर्सेनि औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेका छन्। अझ बलात्कृत हुनेमध्ये सीमान्तकृत समुदाय र खासगरी दलित महिला ८० प्रतिशत छन्। त्यसमा पनि बालिकाको संख्या उच्च छ।

समाजमा दिनानुदिन बढ्दो बलात्कारजन्य अपराधको मुख्य कारक व्यक्तिको मनोदशा (रोग) रहेको समाजशास्त्री मीना उपे्रती बताउँछिन्। ‘त्यस्तो मनोदशा भएका व्यक्तिले अपराधको विरोध गर्न नसक्ने बालिका र किशोरीलाई निशाना बनाउने गरेका छन्,’ उनी भन्छिन्, ‘सामाजिक संरचना, महिलाप्रतिको सोच र हेपाहा मानसिकताका कारण महिलामाथि गर्ने व्यवहारले दिनानुदिन अपराध बढिरहेको छ।’

अपराधीलाई उन्मुक्ति दिने सामाजिक संरचनाले अपराधलाई प्रोत्सहान दिएको उनी बताउँछिन्।  ‘बलात्कार बढ्नुमा महिलालाई नै दोषी देख्नु, महिला नै अघि सरेर भएकोजस्ता कुतर्क गरिनु निकै डरलाग्दो पक्ष हो,’ उनी भन्छिन्, ‘बलात्कारमा परेकालाई उल्टै लाञ्‍छना लगाएर कमजोर बनाउने र बलात्कारीलाई बचाउने प्रवृत्तीको अन्त्य हुन जरुरी छ।’
 

Published Date: Wednesday, 10th February 2021 11:34:00 am