काठमाडाैं, माघ २६  : १६ माघको दिउँसो, टेकुको खरीबोटमा अनौठो दृश्य देखियो । हतियारधारी दुई प्रहरीले एक आम नागरिकलाई त्यहाँ ल्याए । ती आमनागरिकलाई फाँसी दिने तयारी थालियो । फाँसीमा लट्किनुअघि ती आम नागरिकले भाषण दिए । हेर्ने दर्शक स्तब्ध देखिन्थे, मानौँ उनीहरु उही ८० वर्षअघि (१० माघ १९९७) को राणाकालीन दिनमा फर्किएका छन्, जतिबेला राणा शासनविरोधी अभियानमा लागेको अभियोगमा तत्कालीन शासकले शुक्रराज शास्त्रीलाई यही रुखमा झुन्ड्याएका थिए।  

आज देशमा फाँसीकै सजायको व्यवस्था त छैन, तर प्रतिगमन छ भन्दै नागरिक समाजदेखि विभिन्न दल आन्दोलनमा छन् । अहिलेको प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कुठाराघात अर्थात् प्रतिगमनको रूपमा लिइएको छ । त्यसैले बृहत् नागरिक आन्दोलनको आह्वानमा शुक्रबार (सहिद दिवसको दिन) आयोजित कार्यक्रममा सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको रुखमुनि शिल्पी थिएटरका कलाकारले नाटक देखाए । नाटकको मूल पात्र अर्थात् शुक्रराज शास्त्रीको भूमिकामा थिए, रंगकर्मी घिमिरे युवराज। 

हामी सहिद शुक्रराज शास्त्रीलाई चाहेर पनि भुल्न सक्दैनौँ, कि तानाशाही शासकले हामीलाई शुक्रराज शास्त्री सम्झाउँछ कि इतिहासले । 

काठमाडौं प्रेसले पुराना सामुदायिक विद्यालयको प्रोफाइल अर्थात् वर्तमान अवस्था र इतिहास खोतल्दै छ, ताकि सबैको ध्यान यसमा जाओस्, जबकि देशमा निजी विद्यालयको बिगबिगी छ, आम नागरिकले पढ्ने सामुदायिक विद्यालय छायामा छन् । यही क्रममा हामी गएको हप्ता काठमाडौं महानगरपालिका–२८ वागबजारस्थित सहिद शुक्र माध्यमिक विद्यालय पुगेका थियौँ। 

शुक्रराजकी बहिनी चन्द्रकान्तादेवी मल्लले २०१५ सालमा शुक्रराजले लेखेको पुस्तक ‘सहिद के कलम से’ प्रकाशित गरिन् । २५ रुपैयाँ मूल्य रहेको उक्त पुस्तक एक हजारप्रति बिक्री भएर २५ हजार रुपैयाँ जम्मा भयो । त्यही पैसाबाट यो विद्यालयको जग बसालियो । 

गेटबाट प्रवेश गर्नेबित्तिकै बायाँतर्फ कार्यालय सहयोगीहरू विद्यार्थीलाई मास्क र सेनिटाइजर प्रयोग गरे/नगरेको जाँच गर्न बसिरहेका थिए । एल आकारको भवनमा पहेँलो कलरको रंग लगाइएको छ । चारैतर्फ घरले घेरिएको विद्यालयको बीच भागमा खाली ठाउँ छ। 

कार्यालय सहयोगीले सोधिन्, ‘हजुर कसलाई भेट्न आउनुभएको होला ?’
‘प्रधानाध्यापकलाई । उहाँको कक्ष कता हो ?’

उनले पहिलो तलाको कुनाको कक्ष देखाइन् । प्रधानाध्यापक कृष्ण अधिकारी केही कागजातसँग व्यस्त थिए। 

अधिकारीका अनुसार, अमर सहिद शुक्रराज (जोशी) शास्त्रीको नाममा २०१८ सालमा यो विद्यालय स्थापना गरिएको हो । शुक्रराजकी बहिनी चन्द्रकान्तादेवी मल्लले २०१५ सालमा शुक्रराजले लेखेको पुस्तक ‘सहिद के कलम से’ प्रकाशित गरिन् । २५ रुपैयाँ मूल्य रहेको उक्त पुस्तक एक हजारप्रति बिक्री भएर २५ हजार रुपैयाँ जम्मा भयो । त्यही पैसाबाट यो विद्यालयको जग बसालियो। 

नेपालमा विद्यालय खोल्नुपर्छ भनेर आवाज उठाउने पहिलो महिला हुन्, चन्द्रकान्तादेवी । उनले १९८९ माघमा पहिलो कन्या पाठशाला खोल्ने अनुमति पाएकी थिइन्। 

प्रधानाध्यापक अधिकारी भन्छन्, ‘हाल यो विद्यालय रहेको ३ रोपनी ११ आना जग्गा पहिले व्यक्तिका नाममा थियो । चन्द्रकान्तादेवीले २५ हजार रुपैयाँ दिएर किनेको भनिन्छ । २०१८ देखि ०२४ सालसम्म यहाँ टहरामा सुकुल र गुन्द्री ओछ्याएर पढाइन्थ्यो । त्यतिबेला १ कक्षादेखि ३ कक्षासम्म मात्र अध्ययन हुन्थ्यो । २०२४ देखि ७ कक्षासम्म अध्ययन हुन थाल्यो।’ 

२०१८ देखि २०३० सालसम्म यस विद्यालयको संस्थापक प्रध्यानाध्यापक चन्द्रकान्तादेवी थिइन्।

२०३७ सालदेखि यहाँ माध्यमिक तह (कक्षा १० सम्म)को अध्ययन सुरु गरिएको हो । विद्यालयको भौतिक संरचना कम भएकाले सुरुदेखि नै बिहान र बेलुका गरेर अध्ययन गराइन्थ्यो । हालसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म र ११ बजेदेखि ४ बजेसम्म अध्ययन स्कुल सञ्चालन गर्ने नियम छ। 

‘२०३७ मा ५–६ सय विद्यार्थी रहेको तथ्यांक छ,’ प्राध्यापक अधिकारी भन्छन्, ‘०४० सालपछि नर्सरी, एलकेजी, युकेजी अध्ययन गराउन थालिएको छ । त्यतिबेला साना–साना बालबालिकाको हेरचाह गरेबापत विद्यालयले मासिक एक हजारदेखि १२ सय रुपैयाँसम्म लिने गरेको देखिन्छ।’ 

०५२ सालमा यो विद्यालयको पक्की भवन बनाउन थालियो । ०७२ भूकम्प अघिसम्म पनि चन्द्रकान्तदेवीले बनाएको पुरानो भवन थियो– तीन कोठाको, इँटाको गारो भएको । उक्त भवन भूकम्पले भत्किएपछि नयाँ बनाइयो। 

०५२ देखि बनाउन थालिएको एउटा भवन ०५७ सालतिर पूरा भयो । प्राध्यापक अधिकारी भन्छन्, ‘त्यतिबेला विद्यार्थीसँग लिएको भर्ना, मासिक शुल्कबाट भवन बनाइएको हो । पछिल्लोपटक भने भवन संघ–संस्था र सरकारको सहयोगमा बनाइयो । अहिले विद्यालय सञ्चालनका लागि १९ वटा कोठा छन्।’

वागबजारका स्थानीयवासी ५९ वर्षीय होमप्रसाद खड्गी, जो हाल यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्, उनले यस विद्यालयमा कक्षा ४ देखि पढेका हुन्। 

२०२८ सालमा भर्ना भएर सुकुल, गुन्द्रीमा बसेर पढेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘इँटाको गारोमा जस्तापातको छानो राखेर सानो सानो कोठा निकालिएको थियो । त्यही पनि हामीलाई त राजदरबारजस्तो लाग्थ्यो।’

उनले २०३६ सालमा एसएलसी दिए, तर विविध कारण उत्तीर्ण हुन नसकेको उनी बताउँछन् । अहिले उनीमा पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने धारणा छ । उनी भन्छन्, आगामी दिनमा कक्षा ११ र १२ कक्षा सञ्चालन गर्ने योजनामा छौँ।’ 

यस विद्यालयमा पढ्ने केही देशका सेलिब्रेटी भएका छन् भने केही ठूलो पदमा पुगेका छन् । कलाकार दीपकराज गिरी, गायक धीरज राई, नेपाल प्रहरीका एसएसपी वीरेन्द्र श्रेष्ठ लगायतले यही विद्यालयमा पढेका हुन्।

 ९ महिना अनलाइन कक्षा 

यसपालि कोभिडका कारण बन्दाबन्दी भएपछि विद्यालयले तीन महिनासम्म कुनै गतिविधि गरेन । त्यसपछि शैक्षिक सत्र खेर जान नदिने गरी सरकारले ल्याएको योजना अनुसार अनलाइन कक्षा सञ्चालन हुन थाल्यो। 

साउनदेखि माघ ६ गतेसम्म यस विद्यालय पनि अनलाइन कक्षा सञ्चालन गर्‍याे । अनलाइन कक्षामा ९ र १० कक्षाका ९९ प्रतिशत विद्यार्थी सहभागी भए । पाँच देखि ८ कक्षाका भने ८० प्रतिशत विद्यार्थी मात्र सहभागी भएको अधिकारी बताउँछन् । ‘नेटको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई ई–शिक्षाको डाटा प्याकेटको सुविधा प्रदान गरेका थियौँ,’ उनी भन्छन्, ‘नर्सरी युकेजी, एलकेजी र १, २, ३, ४ कक्षाका विद्यार्थीलाई अनलाइन कक्षाका लागि समेट्न सकिएन । अनलाइन शिक्षा दिइएको अधिकारी बताउँछन्। 

नेपाल टेलिकमले ई–शिक्षा अन्तर्गत २५६ रुपैयाँको २८ दिने डाटा प्याकेज ल्याएको थियो । विद्यार्थीको नमस्ते सिमकार्ड नम्बर र नाम ई–शिक्षाको प्याकेजमा रजिस्टर गराएमा कम शुल्कमा अनलाइन शिक्षा सञ्चालन गर्न पाइन्थ्यो। 

यस विद्यालयमा कतिपय बाहिरी जिल्लाका विद्यार्थीले पढ्छन् । कोभिडको समयमा घर फर्किएका ८ कक्षाभन्दा तलका अभिभावक अझै उपत्यका भित्रिएका छैनन् । विद्यालय पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई सम्पर्कमा ल्याउन खोजिएको छ । लामो समय गाउँमा बसेका विद्यार्थी यस शैक्षिक सत्रमा नफर्किने हुन् कि भन्ने अधिकारीको चिन्ता छ। 

काठमाडौं महानगरपालिकाले माघ ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने अनुमति दिएको छ । अहिले यस वर्ष विद्यालयमा २७१ विद्यार्थी (एक सय ६३ छात्रा र एक सय ८ छात्र) छन् । पछिल्ला केही वर्ष ३ सय ५० सम्म विद्यार्थीले यहाँ अध्ययन गर्थे । प्रधानाध्यापक अधिकारीका अनुसार, पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको हो । उनी भन्छन्, ‘२०६० सालतिर विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी थिए।’

कोभिडपछि कक्षा १ देखि ८ कक्षासम्म ५६ प्रतिशत विद्यार्थी मात्रै उपस्थित भए । यसपालि कक्षा ९ मा २९, कक्षा ८ मा २८ र १० मा २९ विद्यार्थी छन्। 

गुणस्तर

पाँच वर्षको एसइईको तथ्यांक हेर्दा यस विद्यालयकाे शैक्षिक स्तरोन्नति सन्तोषजनक नै देखिन्छ । ०७२ मा एसइईमा सहभागी ३४ विद्यार्थी थिए । जसमा एक जनाले ए प्लस, दुई जनाले ए, सात जनाले बी प्लस, १० जनाले बी,  नौ जनाले सी प्लस, दुई जनाले सी र तीन जनाले डी ग्रेड ल्याएका थिए। 

त्यस्तै, ०७३ मा एसइई दिने ३३ जनामध्ये दुई जनाले ए प्लस, तीनजनाले ए, तीन जनाले बी प्लस, ६ जनाले बी, नौ जनाले सी प्लस, १० जनाले डी ग्रेड ल्याएका थिए। 

०७४ मा २६ जना एसइई दिए । जसमा १ जनाले ए प्लस, दुईजनाले ए, सातजनाले बी प्लस, आठजनाले बी, ६ जनाले सी प्लस, दुई जनाले सी ग्रेड ल्याएका थिए। 

त्यस्तै, ०७५ मा २९ विद्यार्थीले एसइई दिए । जसमा दुई जनाले ए प्लस, तीन जनाले ए, आठ जनाले बी प्लस १० जनाले बी, ६ जनाले सी प्लस ल्याएका थिए। 

०७६ मा २६ विद्यार्थीले एसइई दिए । जसमा सात जनाले ए प्लस, ६ जनाले ए,  पाँच जनाले बी प्लस, एक जनाले सी प्लस ल्याए। 

विद्यालयको ग्रेड केही खस्कँदो हो कि ? यसमा प्रधानाध्यापक अधिकारीको बेग्लै व्याख्या–विश्लेषण छ । उनका अनुसार, यस विद्यालयमा अध्ययन गर्ने धेरैजसो विद्यार्थीका अभिभावक भृकुटीमण्डपमा व्यवसाय गर्छन् । बागबजार वरिपरि सब्जी पसल, नाङ्लो पसल, चटपटे पसल, फुटपाथमा व्यवसाय गर्नेका छोराछोरी धेरै रहेको उनको भनाइ छ। 

‘यहाँ पढ्ने कतिपय विद्यार्थीले स्कुल बिदा भएका बेला फुटपाथमा सामान बेचिरहेको मैले देखेको छु,’ उनी भन्छन्, ‘त्यसैले कतिपय विद्यार्थीले आर्थिक संकटका कारण घरमा पढ्ने वा गृहकार्य गर्ने समय निकान्ल सक्दैनन् । त्यसरी अध्ययन गरेका विद्यार्थीले राम्रो अंक ल्याएनन् भनेर गुनासो गरेर मात्रै भएन।’ 

सामुदायिक विद्यालयप्रति उच्च र मध्यम वर्गको आकर्षण नै नभएको देखिन्छ । यस्तो किन हुन्छ होला ? प्रधानाध्यापक अधिकारी अभिभावको क्षमताअनुसार विद्यालय छान्ने प्रवृत्ति रहेको बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक विद्यालयमा विद्यार्थी जुत्ता नलगाई आए पनि पढ्न दिइन्छ तर निजी विद्यालयमा जुत्ता नलगाई विद्यार्थी गयो भने घर फकाइदिन्छन् । कतिपय अभिभावको क्षमता दुई छाक धान्न धौ धौ हुन्छ । उनीहरूले आफ्नो बालबालिकालाई खाजा खाना र हेरविचारमा समय दिन सक्दैनन् । उनीहरु धन्न पढ्न आएका छन्।’ 

पूर्णिमा परियार यस विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । उनकी आमाले बागबजारमा सिलाइबुनाइको काम गर्छिन् । पूर्णिमाकी आमा माया परियार भन्छिन्, ‘पहिले छोरीलाई निजी विद्यालयमा पढाएकी थिएँ । कक्षा ८ देखि यस विद्यालयमा पढाएका हौँ । श्रीमान् नभएको र आर्थिक अवस्था सुदृढ नभएका कारण छोरीलाई सरकारीमा पढाएकी हुँ।’

पूर्णिमालाई सरकारी र निजी विद्यालयमा त्यति धेरै भिन्नता लाग्दैन । उनी भन्छिन्, ‘सरकारी विद्यालयमा पनि सिकाउने कुरामा सम्झैता गरिँदैन । अब सिक्ने वा नसिक्ने भन्ने विद्यार्थीमा भर पर्छ।’

शिक्षक दरबन्दीमा आएका हुन्छन् । कसैको डर हुन्न । पुस्तकमा जे छ त्यही ४५ मिनेट पढाइदिऊँ भनेजसरी समय मात्र कटाउँछन् । विद्यार्थीले सिके वा नसिकेकोप्रति ध्यान दिँदैनन् । यसैले सामुदायिक विद्यालयहरूको गुणस्तर खस्किँदै गएको छ।

उनी अहिले एसइईको तयारीमा छन् । कोभिडका बेला नियमित अनलाइन कक्षामा उपस्थित भएको उनी सुनाउँछिन्। 

४३ वर्षीया शर्मिला बनकी १५ वर्षीया छोरी सिम्रन यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन् । बागबजारमा अस्थायी रुपमा बसोबास गर्दै आएकी शर्मिला फुटपाथमा कपडा व्यापार गरेर गुजारा चलाउने गरेको बताउँछिन्। 

उनका दुई छोरी र एक छोरा छन् । आफूले तीनैजना छोराछोरीलाई दुःख गरेरै सुरुमा निजी विद्यालयमा पढाएकी थिइन् ।  उनी भन्छिन्, ‘तर, सिम्रन आफैँले सरकारीमा पढ्ने भनेपछि कक्षा ३ बाट यस विद्यालयमा पढाएकी हुँ ।’ भर्ना गरिदिएको सुनाइन्। 

निजीमा जस्तो नियमहरू कडा नहुने र स्वतन्त्र भएर पढ्न पाइने भएकाले आफूले सामुदायिक विद्यालय रोजेको सिम्रन बनाउँछिन् । कोभिडका बेला उनी पनि नियमित रुपमा अनलाइन कक्षामा सहभागी भइन्। 

शिक्षकका कुरा

२०४९ देखि शिक्षण पेसामा आबद्ध ४९ वर्षीय रोशन शाह ०४६ देखि सहिद शुक्र माविमा अध्यापन गर्छन् । हाल उनी यस विद्यालयका सहायक प्रधानाध्यापक समेत हुन्।

उनको विचारमा जागिर जाने डर नहुँदा सामुदायिक विद्यालयमा शिक्षकले राम्रोसँग पढाउँदैनन् र गुणस्तर खस्केको हो । उनी भन्छन्, ‘शिक्षक दरबन्दीमा आएका हुन्छन् । कसैको डर हुन्न । पुस्तकमा जे छ त्यही ४५ मिनेट पढाइदिऊँ भनेजसरी समय मात्र कटाउँछन् । विद्यार्थीले सिके वा नसिकेकोप्रति ध्यान दिँदैनन् । यसैले सामुदायिक विद्यालयहरूको गुणस्तर खस्किँदै गएको छ।’ 

५४ वर्षीया मीरा कुमारी शर्माले यस विद्यालयमा ०६२ सालदेखि पढाउन थालेकी हुन् । उनी सामुदायिक विद्यालय शिक्षाको गुणस्तर बढाउन राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहन गर्ने, शिक्षकलाई समय समयमा तालिम दिनुपर्ने र सरकारले पनि बेला बेला अनुगमन गर्नुपर्ने बताउँछिन्।

विद्यालय खर्च 

यस विद्यालय भवनको सडकतिर २२ वटा सटर छन्, भाडामा दिनका लागि । कोभिडका कारण ७÷८ वटा सटर खालि छन् । बीचमा बन्दाबन्दी भएकाले भाडामा दिइएको सटरबाट पनि भाडाबापतको रकम उठेको छैन । व्यवस्थापन समिति, विद्यालय र व्यवसायी बसेर एक महिनाको छुट दिइयो । तर, व्यवसायीले दुईदेखि ३ महिनासम्मको भाडा छुटको माग गरेका छन् । यस मागबारे छलफल चलिरहेको प्रधानाध्यापक अधिकारी बताउँछन्।

यस विद्यालयमा दरबन्दीका २१ (१३ शिक्षिका र ८ शिक्षक)ले पढाउँछन् । उनीहरुले सरकारले दिए अनुसारको तलब सुविधा पाउँछन् । यसबाहेक विद्यालयले निजी स्रोतमा पाँच कर्मचारी राखेको छ– एक कम्प्युटर शिक्षक, एक प्रावि शिक्षक, एक कम्प्युटर विज्ञ र दुई कार्यालय सहयोगी छन् । प्रधानाध्यापक अधिकारीका अनुसार, थप पाँच कर्मचारीको तलबदेखि विद्यार्थीको खाजा खर्चसम्म विद्यालयले व्यहोर्छ । यसरी मासिक एक लाख ५० हजार रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ। विद्यालयले १ देखि ३ कक्षासम्मका बालबालिकालाई खाजा खुवाउने गरेको छ । यी विद्यार्थीबाट मासिक तीन सय रुपैयाँ लिइन्छ। 

तस्बिर : प्रकृति अर्याल

त्यस्तै, कम्प्युटर शिक्षा दिएबापत मासिक एक सय ५० रुपैयाँ लिइन्थ्यो तर कोभिडका कारण उक्त रकम यस वर्ष लिइएन।

कार्यालय सहयोगीलाई सरकारले मासिक सात हजार पाँच सय रुपैयाँ दिन्छ । २४ घन्टा कार्यालयमा बस्नुपर्ने भएकाले त्यसमा थप गरेर मासिक १७ हजार रुपैयाँ दिने गरेको प्रधानाध्यापक अधिकारी बताउँछन् । ‘लेखापाल दरबन्दीबाट आएको कर्मचारीलाई सरकारले ११ हजार पाँच सय तलब दिन्छ । उनीहरूलाई थप गरेर २६ हजार दिन्छौँ,’ उनी भन्छन्।

आर्थिक हिनामिना !

विद्यालय क्षेत्र वरिपरिका स्थानीय बासिन्दा तथा वडाध्यक्षले विद्यालय बन्द भएका बेला भवन प्रयोगका लागि अनुरोध गर्छन्। विशेषतः विवाह र मृत्यु संस्कारका कार्यक्रम गर्न विद्यालय भवन मागिन्छ।

‘स्थानीय बासिन्दादेखि वडाध्यक्षसम्म आउँदा हामीलाई दबाब हुन्छ र स्कुल बिदाको दिन भवन प्रयोग गर्न दिन्छौँ,’ अधिकारी भन्छन्, ‘विवाहका लागि ३ हजार पाँच सय रुपैयाँ र मान्छे मृत्यु भएका बेला कोरा बस्नका लागि प्रयोग गर्दा ३ हजार रुपैयाँ लिँदै आएका थियौँ।’ 

यस शैक्षिक सत्रबाट त्यस्ता कार्यक्रम गर्न नदिने उनी बताउँछन्। 

गत वर्ष वडाध्यक्ष सहितको एक टोलीले स्कुलबाट विगत ८ वर्षको आर्थिक गतिविधिको फाइल लगेका थिए । ‘चार–पाँच महिनापछि आर्थिक हिनामिना नभएको भन्दै फाइल फर्काइदिए,’ अधिकारी भन्छन्, ‘गत वर्ष अख्तियार अनुसन्धान आयोगबाट पनि विद्यालय प्रशासनमा छानबिन गरेका थिए।’

Published Date: Monday, 8th February 2021 6:54:00 pm