काठमाडाैं, माघ २० : नेवारीमा कसैलाई सराप्नुपर्दा भनिन्छ, ‘छंगु फल्चाय बास लाय् मा ।’ अर्थात्, तेरो फल्चा (पाटी)को बास होस् । अझ विस्तृत रूपमा अर्थ लाग्छ, ‘तेरो घर–सम्पत्ति सबै सकियोस् र पाटीमा बास बस्न परोस् ।

यसरी शत्रुलाई सराप्दा प्रयोग गरिने फल्चा उपत्यकाका टोलमा सदियौँदेखि स्थानीयको साथीको रूपमा रहेको छ । यहाँ युवादेखि वृद्धसम्म आराम गर्न, टहल्न आइपुग्छन् । ‘जेनेरेसन ग्याप’का कारण परिवारबाट भावनात्मक रूपमा टाढिन पुगेका वृद्धवृद्धाका लागि फल्चा प्रमुख ठाउँ बनेको छ, आफ्ना उमेरका साथी वा छिमेकीसँग भावना साटासाट गर्न । 

गएको शुक्रबार बिहान ६० वर्षीय बद्रीराम खोतेजा भक्तपुर सानो व्यासी चोकस्थित फल्चामा बसेर साथीभाइसँग गफिँदै थिए । दुःखसुख, साथीसंगत, समाज, घर–व्यवहारमै केन्द्रित थिए, उनीहरूका कुराकानी । फुर्सदका बेला यसो टहल्न, आराम गर्न वा गफिन उनी फल्चा नै रोज्छन् । प्रायः बिहान घरको चिया पिएपछि उनलाई एकपटक फल्चा आउनुपर्छ । यहाँ आएपछि मानिसका घरघर जानुपर्दैन, यहीँ आफ्नो समाज भेटिन्छ । छरछिमेकको हालखबर सुनिन्छ, अवस्था बुझिन्छ । देश–विदेशका खबरको चर्चा पनि हुन्छ । अनि, समाज, छरछिमेक, घर–परिवारसँग सम्बन्धित केही सरसल्लाह पनि हुन्छ । 

बद्रीराजजस्तै फल्चा आउने धेरै छन् । यहाँ आउन कुनै उद्देश्य वा मुद्दा चाहिँदैन । बद्रीराम हरेक बिहान–बेलुका यहाँ आउन अभ्यस्त छन् ।

अझ हिउँदको बिहानमा घाम लाग्यो भने यहाँ सानोतिनो जमघट देखिन्छ, घाम ताप्नेहरूको । यो फल्चा घाम पर्ने गरी खुला ठाउँमा छ ।

फल्चाको बारेमा नेवारीमै चासो राखेपछि उनले भने, ‘जी न्हेदा दगु भले छपाचा लं फिना थोहे फल्चे वया गुच्चा म्हितेगु ।’ अर्थात्, ‘म सात वर्षको उमेरदेखि एउटा मात्र कपडा लगाएर यही फल्चामा गुच्छा खेल्न आउँथेँ ।’

फल्चासँगै उनले आफ्नो बालपनदेखि बाजेबराजु समेत सम्झिए । ‘म यही फल्चा वरिपरि खेलेर हुर्किएको हुँ । हाम्रा बाजे–बराजुको पालादेखि नै यो यहाँ छ । अहिलेसम्म बिहान–बेलुका यहाँ एकछिन भए पनि बस्न आउँछु ।’

अर्का ६८ वर्षीय स्थानीय जंग सुवाल पनि प्रायः फल्चा आइरहन्छन् । मानिसहरूले आराम गर्नका लागि मल्लकालमा यस्ता फल्चा बनाएको र ती फल्चा अझैसम्म काममा आएको उनी बताउँछन् । 

स्थानीयका अनुसार, पहिले यहाँनिकै कम बस्ती थियो, अहिले बस्ती बढेको छ । यहाँको फल्चा अन्यको तुलनामा अलि भिन्न देखिन्छ । पुरानो टायलको छानो, एकातिर भित्तो र बाँकी तीनतिर खुला छ । भित्तामा गणेशको चित्र अंकित छ । बस्ने ठाउँमा पनि हरियो कार्पेट ओछ्याएकाले सफा र सुन्दर देखिन्छ । नजिकैको ढुंगेधाराले यसको शोभा अझ बढाएको छ ।

शत्रुलाई सराप्दा प्रयोग गरिने फल्चा उपत्यकाका टोलमा सदियौँदेखि स्थानीयको साथीको रूपमा रहेको छ । यहाँ युवादेखि वृद्धसम्म आराम गर्न, टहल्न आइपुग्छन् ।

फल्चा भएको ठाउँमा ढुंगेधारा पनि हुने संस्कृतिविद् बताउँछन् । किनभने पहिले मानिसहरू पैदलयात्रा गर्थे । टाढा पुग्नुपर्नेहरू, नजिकै कामबाट फर्केकाहरूले फल्चामा केहीबेर विश्राम गरून्, प्यास मेटून्, हातगोडा धोऊन् भनेर ढुंगेधारासँगै फल्चा बनाइएको पाइने पुरातत्त्वविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । 

व्यासीमा रहेको फल्चा र ढुंगेधाराको हेरचाहको जिम्मा अहिले स्थानीय सरकारलाई छ । स्थानीय राजेन्द्र कोजु भन्छन्, ‘पहिला हाम्रो बुबाहरू मिलेर यो फल्चा र धारालाई वर्षको एकपटक रङरोगन गर्ने, सफा गर्ने, सजाउने गर्नुहुन्थ्यो । यसको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिएको २० वर्ष जति भयो ।’

अहिले पनि यो फल्चाको उत्तिकै महत्त्व रहेको राजेन्द्र बताउँछन् । उनका अनुसार, अहिले जेनेरेसन ग्यापका कारण वृद्धवृद्धाहरू भावनात्मक रूपमा आफ्नो परिवारबाट टाढिएका छन् । उनीहरूले आफ्नो उमेरका साथी–छिमेकी भेट्ने र भावना साटासाट गर्ने एउटा उपयुक्त थलो बनेको छ, फल्चा । 

उनी भन्छन्,  ‘हामी पनि आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित कुरा यहाँ आएर साथीभाइसँग छलफल गर्न पाइरहेका छौँ।’

त्यसो त यहाँ बेलाबेला युवा जोडीहरू पनि झुल्कन्छन्, तस्बिर लिन्छन्, केहीबेर बसेर गफ गर्छन् ।

पुरातत्त्वविद् डा. श्रेष्ठ मानिसले ढुंगेयुगबाट सभ्यताको युगमा पाइला टेकेदेखि नै फल्चा र सत्तलको प्रयोग गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘कृषि र स्थायी बसोबास जबदेखि सुरु भयो, तबदेखि फल्चा, पाटी र सत्तल पनि सभ्यताकै एक अभिन्न अंगको रूपमा रहेर आयो।’

फल्चा र सत्तल

संस्कृतिविद् ओम धौभडेल फलेचा शब्दबाट फल्चा शब्द बनेको बताउँछन् । उनका अनुसार, नेवारीमा ‘फले’को अर्थ सिँढीमाथि र ‘चा’ को अर्थ सानो भन्ने हुन्छ । ‘यसरी फलेचाबाटै फल्चा शब्द आएको हो,’ उनी भन्छन्, ‘जसको अर्थ सिँढीमाथि बनाएको सानो पाटी भन्ने हुन्छ।’

पुरातत्त्वविद् डा. श्रेष्ठका अनुसार, फल्चा नेवारी बोलीचालीको शब्द हो, यसले नेपाली शब्द पाटीको अर्थ दिन्छ । विशेषगरी कुनै गाउँठाउँको चोक र देवस्थलहरूमा फल्चाको निर्माण गरिएको हुन्छ । फल्चा एक तलाको खुला हुन्छ । सत्तलमा दुईवटा तला हुन सक्छन्, भित्र बस्नका लागि सुरक्षित किसिमले बनाइएको हुन्छ । डा. श्रेष्ठ भन्छन्, ‘फल्चालाई आराम गर्ने ठाउँको रूपमा लिइन्छ वा बुझिन्छ भने सत्तललाई धर्मशालाको रूपमा । धर्मशालामा खाने–बस्ने व्यवस्था गरिएको हुन्छ ।’ 

काठमाडौं उपत्यकामा धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेका धेरै फल्चा र सत्तल रहेका छन् । विशेषगरी उपत्यकाका दरबार क्षेत्रमा लामा सत्तल बनाइएको पाइन्छ । एउटा मुख्य उदाहरण, भक्तपुर दरबार स्क्वायरमा रहेको सत्तल पनि हो । डा. श्रेष्ठ भन्छन्, ‘पहिले राजदरबारमा कसैलाई भेट्न आएका, कुनै काम विशेषले नगर क्षेत्रमा आएका मानिसलाईबस्ने व्यवस्थाका लागि सत्तल बनाइन्थ्यो।’

यस्तै,पहिले समाजमा बाहिर कतै गएर घर फर्कंदाबित्तिकै घरभित्र प्रवेश गराइँदैनथ्यो । उनीहरूलाई केही समय सत्तलहरूमा राखिन्थ्यो। यसमा तत्कालीन सामाजिक नियमदेखि स्वास्थ्यजन्य कारण हुन सक्छन्। 

पहिला मानिसहरू व्यापार, व्यवसायका काममा भारत, तिब्बत लगायत ठाउँ भ्रमण गर्थे । उनीहरू फर्केपछि एकैचोटि घरभित्र नभित्र्याईकन केही दिन सत्तलमा राख्नुलाई अहिले कोभिडको बेला प्रचलित शब्द आइसोलेसन (एकान्तबास)को रूपमा लिन सकिन्छ ।

डा. श्रेष्ठ भन्छन्, ‘नेपालीले पहिलेदेखि नै महामारी भोगेको इतिहास छ, त्यही कारण पनि बाहिरबाट आउने मानिसलाई आइसोलेसनमा राख्न सत्तलहरू बनेका हुन सक्छन् ।’

टाढा पुग्नुपर्नेहरू, नजिकै कामबाट फर्केकाहरूले फल्चामा केहीबेर विश्राम गरून्, प्यास मेटून्, हातगोडा धोऊन् भनेर ढुंगेधारासँगै फल्चा बनाइएको पाइने पुरातत्त्वविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । 

अहिले आधुनिक युगको सुरुवातसँगै सडक विस्तार, बस्ती विकास लगायत कारण प्राचीन मूल्य र महत्त्व बोकेका फल्चा र सत्तल नास हुँदै गएको उनको भनाइ छ।

फल्चा तथा सत्तल संरक्षणको जिम्मा पाएको पुरातत्व विभागले पनि यसतर्फ खासै ध्यान दिएको देखिँदैन । उपत्यकामा कति सत्तल तथा फल्चा छन्, कति लोप भए भन्ने तत्थ्यांक समेत विभागसँग छैन । विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘सत्तल र फल्चाको हामीसँग ठ्याक्कै तथ्यांक छैन तर यसको संरक्षणको कामहरू भने भइरहेको छ ।’

Published Date: Tuesday, 2nd February 2021 3:05:00 pm