बिहिबार, कात्तिक १३, २०७७

‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद भयो,’ २ अगस्त २०१५ मा राजेश हमालले स्टाटस लेखे, ‘डोमलाई इनार छुन नदिन जब पूरै गाउँ उल्टियो’ शीर्षकको समाचार सेयर गर्दै । उनको यो स्टाटस सामाजिक सञ्जालमा बहसको विषय बन्यो । 

समाचार पनि उनीसँगै सम्बन्धित थियो । सिराहाको साबिक धनगढी गाविस–३ स्थित नयनपुरका दुई घर डोमलाई कथित उच्च जातका मानिसले इनार छुन दिँदैनथे ।  यो थाहा पाएर राजेश हमाल त्यहाँ पुगेका थिए, गाउँलेलाई केही चेतनाका कुरा बुझाउन सकिन्छ कि भनेर । जब इनार छुन नदिन पूरै गाउँले उल्टियो, उनी अवाक् भए । 

राजेश हमाल कहिल्यै कुनै त्यस्ता अनावश्यक विवादमा आएनन् । तर, उनलाई विवादमा ल्याइयो । विवादको विषय पनि कुनै नैतिक आचरण, आक्षेप वा राजनीतिसम्बन्धी थिएन । थियो त, ‘राजेश हमाललाई महानायक मान्ने कि नमान्ने’ भन्ने । यस्तो पनि विवाद हुन्छ ? राजेशका फ्यानहरु उनकै पक्षमा लागे, लागिरहेछन् । 

मान्छेहरु विवादमा आउँछन्— नैतिकपतन, आक्षेप, सम्बन्ध आदिका कारण । तपाईं नै भन्नुस्– जो कलाकार विवादमा आउँदा पनि ‘उसलाई महान् मान्ने कि नमान्ने’ भन्ने विषयसहित आयो, त्यो कलाकार कस्तो होला ? 

हो, उनको माथिको स्टाटस पनि सामाजिक सञ्जालमा विवादमा आएको थियो, ‘यत्तिका फिल्म खेलेका कलाकारलाई आज आएर पो लज्जास्पद बोध भयो ? के उनले समाज नबुझी फिल्म खेलेका थिए ?’
उनीमाथि यस्तै प्रश्न थिए । 

आज उनै नायक, कलाकार हमाल समाजलाई अलि मिहीन रूपमा बुझ्न खोज्दै टेलिभिजन स्क्रिनमा ‘जातको प्रश्न’ कार्यक्रम लिएर देखिएका छन् । 

चर्चित नायकलाई समाजमा पछाडि परेका समुदायको पैरवी गर्ने रुचि कसरी जाग्यो त ? 

प्रश्न सकिन नपाउँदै उनले भने, ‘मैले रिलमा गरेका भूमिका अहिले रियलमा गर्दैछु । जातको प्रश्नले मलाई धेरै उत्तर दिएको छ, मेरो आफ्नै ज्ञानको फाइलको साइज पनि बढाएको छ ।’

‘दलित समुदाय आर्थिक हिसाबले पनि कमजोर छन् । त्यसमाथि विदेभ छ । त्यसकारण उनीहरूले कानुनले दिएको अधिकार पाउने र पीडामा परेकाले न्याय पाउने अवस्था भयो भने छुवाछुत विरुद्धको अभियानले सकारात्मक दिशा लिनेछ ।’

एक्कासि जातको प्रश्न कार्यक्रममा देखिएका हमालले अहिले हाम्रो समाज अझै गहिरिएर बुझिरहेका रहेछन् । ‘जातको प्रश्न चलाउँदा राम्रो अनुभव भइरहेको छ । धेरै कुरा सिकिरहेको छु,’ उनले भने, ‘पहिलेदेखि नै दलित समुदाय र पिछडिएका वर्गका विषयमा जान्ने रुचि थियो । समाजमा किन यस्तो भइरहेको छ भन्नेबारे सरोकारवालासँग कुरा गर्दा जानकारीको दायरा फराकिलो हुँदै गएको छ ।’

सिनेमा, टेलिभिजन कार्यक्रम हुँदै अन्तर्वार्ताकारका रुपमा प्रस्तुत हुँदा हमाललाई नौलो लागेको छैन, बरु थप रुचि पलाएको छ । हरेक साता फरक व्यक्तिसँग जातको प्रश्न राख्दा उनी रोमाञ्चित बनिरहेका छन् । ‘क्विज, को बन्छ करोडपति लगायत टेलिभिजन कार्यक्रम चलाइसकेको थिएँ । त्यसैले ‘जातको प्रश्न’ कार्यक्रम चलाउन नौलो भने लागेको छैन,’ उनले आफ्नो टेलिभिजन कार्यक्रमबारे बताउँदै भने, ‘तर, कसैको अन्तर्वार्ता लिएको चाहिँ जीवनमै पहिलो अनुभव हो ।’ 

‘जातको प्रश्न’ समता फाउन्डेसनले उत्पादन गरेको सीमान्तकृत समुदायको अधिकारमाथि पैरवी गर्ने कार्यक्रम हो । कार्यक्रमको होस्टका रूपमा कार्यक्रम उत्पादकले सुरुमै हमाललाई बनाउने निर्णय गरेका थिएनन् रे ! ‘उहाँहरूले कसलाई बनाउँदा ठीक हुन्छ भनेर सोचिरहुनभएको रहेछ । छलफलकै क्रममा मेरो नाम आएछ र मलाई होस्ट बनाउने निष्कर्ष निकाल्नु भएछ,’ उनले सुनाए, ‘मेरो पनि यो विषयमा पहिलेदेखि नै रुचि थियो । चलचित्रमा पनि यस्ता विषय उठाएको थिएँ । त्यसैले सहजै उहाँहरूको प्रस्ताव स्विकारेँ ।’ 

‘जातको प्रश्न’ सोधिरहँदा हमालले एउटा निष्कर्ष निकालेका रहेछन् । अहिलेसम्म जातीय विभेदलाई उनले जसरी नियालेका थिए, अवस्था त्योभन्दा जटिल भएको उनले पाए । सामाजमा दलितमाथि हुने भेदभाव, विद्यामान कानुन र त्यसको कार्यान्वयनको पाटोलाई नियालेर उनी यो निष्कर्षमा पुगेका छन् । 

‘समाजमा चेतना पनि नभएको होइन । तर, व्यवहारमा परिवर्तन हुन सकेको छैन । हामीले विभेदको रुप सतहमा जसरी देखेका छौँ । तर, अवस्था त्योभन्दा जटिल रहेछ,’ हमालले सुनाए, ‘यसमा धेरै पक्षले भूमिका खेल्दो रहेछ । कानुन हुँदैमा सबै कुरा नहुने रहेछ । त्यसको कार्यान्वयनको कुरा पनि उत्तिकै महत्वपूर्ण हो । कानुन कार्यान्वयन हुन नसक्दा भेदभाव, त्रुटि र हिंसाका घटना भइरहेका छन्।’

 हमालले विभेदको अवस्था जटिल देख्नु र विभेदमा पारिएका समुदायमा निराशाको बादल मडारिनुको कारण समेत पहिल्याएका रहेछन् । आशा र अपेक्षाको बाटो बन्द हुँदा समस्या जटिल बनेको उनले निष्कर्ष निकालेका छन् । ‘विगतमा भन्दा पनि समस्या अहिले अलि जटिल बनेको हो कि जस्तो देखियो । विगतमा त कम्तीमा संविधानमा अधिकार स्थापित हुन्छ, कानुन बन्छ भन्ने आशा थियो,’ उनले सुनाए, ‘तर, संविधान, कानुन बनिसक्दा समेत समस्या सुल्झन नसक्दा समस्या जटिल मात्रै बनेको छैन, निराशा समेत जागेको छ ।’ 

कानुन बने पनि भेदभाव र हिंसा नरोकिएको बरु उल्टै पीडित थप पीडित हुनुपरिरहेको छ । लकडाउन सुरु भएयता घटेका घटनाले यस्तै संकेत गर्छन् । दलित समुदायमाथि भेदभाव गर्ने, हिंसा गर्ने र मिलेमतोमा सल्टाउने प्रवृत्ति हाबी हुँदै गएको छ । जसले पीडित सधैँ पीडामै बस्नुपरिरहेको हमाल बताउँछन् । ‘धेरै घटना मिलेमतो गर्ने वा सल्टाउने गरिएको छ । कतिपय कुरा दलित समुदाय भएकै कारण सुनुवाई नहुने अवस्था पनि देखिएको छ । यसले पीडित सधैँ पीडामा परिरहेको देखिएको छ,’ उनी भन्छन्, ‘अहिलेको कानुन शतप्रतिशत उत्कृष्ट नभए पनि धेरै कुरा त सम्बोधन गरेको छ । त्यसैले यसको कार्यान्वयन गर्दै सामाजको मनोविज्ञान परिवर्तन गर्न आवश्यक छ ।’ 

हिजो समाज अशिक्षित हुँदा छुवाछुत हटेन भनियो । तर, समाज शिक्षित हुँदा समेत भेदभाव र छुवाछुत कम हुन सकेको छैन । बरु उल्टै हिंसा बढिरहेको छ । किन यस्तो भइरहेको छ त? 

‘शिक्षित हुँदैमा भेदभाव नहट्ने रहेछ, अहिले शिक्षितहरूबाटै पनि छुवाछुत भएको सुन्नमा आएको छ । मानिसको मनोविज्ञानमै समस्या हुन सक्छ । मनोविज्ञानलाई केले निर्देशित गरेको छ ? त्यो फरक कुरा हो,’ हमाल भन्छन्, ‘पुरानो जमानामा थियो, अब नयाँ जमनामा हुँदैन भन्यौँ । २१औँ शताब्दीमा हुँदैन भन्यौँ । तर, भइरहेको छ । मानिसको मनोविज्ञान परिवर्तन हुँदैन रहेछ।’

जातको प्रश्नमा रेडिमेड जवाफले हैरानी 

‘जातको प्रश्न’मा हमालले पूर्वप्रधानमन्त्रीदेखि कानुनमन्त्रीसम्मलाई अतिथि बनाएका छन् । प्रश्न सोधेका छन् । तर, उनीहरूले पदीय परिधिमा रहेर रेडिमेड जवाफ दिने गरेको हमाल सुनाउँछन् । ‘जिम्मेवार निकायमा बसेकाहरूले आफ्नो परिधिमा बसेर कुरा गर्नुहुन्छ र कूटनीतिक तवरले रेडिमेड उत्तर दिनुहुन्छ,’ उनी भन्छन्, ‘उहाँहरूका रेडिमेड जवाफ र पीडा भोगेकाहरूका वास्तविक व्यथा सुन्दा यो समस्या देखिएको भन्दा पनि अलि गम्भीर हो कि जस्तो लाग्छ।’ 

कतिपयले पहिलो भन्दा अवस्था सुधार भएको तर्क गर्छन् । तर, ती तर्क हमाललाई चित्त बुझेको छैन । र त उनी अलिलि मात्रै समस्या छ भनेर आत्मरतिमा रमाउनुभन्दा समस्यालाई जरैदेखि निमिट्यान्न पार्न अग्रसर हुनुपर्ने बताउँछन् । ‘धेरैले पहिलेभन्दा धेरै सुधार भएको छ भन्नुहुन्छ । पहिला मान्छेले माथ्र्यो, अहिलेचाहिँ घाँटी न्याक्ने मात्रै भइरहेको छ भनेर सन्तुष्ट हुन सकिन्छ, सकिँदैन नि !’ उनी भन्छन्, ‘घाँटी न्याक्ने अवस्था नै नरहने गरी काम गर्नपर्छ।’ 

राजनीति संरक्षण र आरक्षण 

हमालले राजनीतिक दलका नेतासँगको कुराकानीमा समेत दुई खाले अनुभव सँगालेका छन् । सत्तासीन र विपक्षी नेताहरूले बोल्ने फरक भाषाले कताकता हमाल दिक्क रहेछन् । राजनीतिक संरक्षणका कारण भेदभाव हट्न नसकेको नेताहरूले दाबी गर्ने गरेका छन् । तर, कसले संरक्षण दियो ? यसको जवाफमा नेताहरु एक–अर्कालाई दोषारोपण गर्ने गरेका छन्। 

‘सत्तासीनको एक खालको र विपक्षीको अर्को खालको कुरा आउँछ,’ उनी भन्छन्, ‘राजनीतिक संरक्षण छ भन्ने तर्क आएपछि तपाईंहरू पनि राजनीति नै गर्नुहुन्छ नि भन्यो भने सत्ताले संरक्षण गरेको छ भन्नुहुन्छ । आखिर भेदभाव हो, जो सत्तामा भए पनि कानुनको बलियो कार्यान्वयन गराइदिए हुने नि।’

भेदभाव र छुवाछुत हटाउन मुख्य तीन विषयको बलियो कार्यान्वयन हुनुपर्ने हमालको तर्क छ । ती हुन्– आरक्षण, चेतना अभिवृद्धि र कानुनको पूर्ण कार्यान्वयन । यी तीन विषयलाई सँगै राखेर हिँडाउन सके धेरै हदसम्म विभेदको अन्त्य हुने हमालले सुनाए। 

‘समाजमा कुनै समुदायलाई हजारौँ वर्षसम्म पछि पारिएको छ भने उनीहरूलाई माथि उकास्न आरक्षण आवश्यक छ । त्यतिले मात्रै पुग्दैन, समाजमा चेतनाको स्तरमाथि उकास्नुपर्छ र कानुनको पूर्ण कार्यान्वयन हुनुपर्छ,’ उनी भन्छन्।  

मुलुकमा भएका क्रान्ति र आन्दोलनमा दलित समुदायले ठूलो बलिदानी गरेको भए पनि उनीहरूको अवस्था ज्युँका त्युँ रहँदा हमाल दुःखी रहेछन् । त्यसैले उनी यसलाई विडम्बनाको संज्ञा दिन्छन्।   

‘हामीकहाँ विभिन्न समयमा क्रान्ति भए आन्दोलन भए । ती क्रान्ति, आन्दोलनमा दलित समुदायको ठूलो योगदान छ । त्यो योगदान उनीहरूले आफ्नो समुदायको उत्थानका लागि गरे हुन्,’ उनी भन्छन्, ‘तर हरेक क्रान्ति र आन्दोलनपश्चात समस्याचाहिँ जहाँको त्यहीँ रह्यो । पछिल्लो जनयुद्धलाई हेरौँ न । उहाँहरूको योगदान कति थियो । तर, समस्या उस्तै छ । आज त्यही आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूले अझै क्रान्ति पूरा भएको छैन भनेर टार्नुहुन्छ । यो विडम्बना हो।’ 

समाज समान हुन सक्दैन, तर भेदभाव गरिन हुँदैन 

भेदभाव र दुव्र्यवहार नेपाली समाजमा मात्रै छैन, विश्वभर कुनै न कुनै रूपमा हुन्छ । नेपालमा जातका आधारमा भेदभाव छ । पश्चिमीमा मुलुकमा रंगको आधारमा दुव्र्यवहार हुन्छ । कतै भाषा त, कतै पृष्ठभूमिका आधारमा भेदभाव गरिन्छ । हमाल एक मानवले अर्को मानवलाई कुनै पनि प्रकारको विभेद गर्ने हक नभएको बताउँछन् । ‘समाज समान हुनै सक्दैन । हामीलाई जसले बनाएको छ, चाहे आमाबुवा भन्नुस्, चाहे ईश्वरले भन्नुस्, चाहे प्रकृति भन्नुस् । हामी सबैलाई असमान रूपमै बनाएको हुन्छ । कसैलाई बढी बुद्धि दिएको होला, कसैलाई कम । कसैलाई बढी दौडिन सक्ने क्षमता दिएको हुन्छ, कसैलाई दौडिन नसक्ने बनाएको होला । कसैलाई बलियो बनाउँछ,  कसैलाई कमजोर ।’ त्यसैले समाजलाई समान बनाउनुपर्छ भनेर त सम्भव हुँदैन । सम्भव के हुन्छ भने कुनै पनि मानवले अरुको मानवतामा आँच पु¥याउनु, ठेस पु¥याउनु हुँदैन । यो विषय जातीय भेदभाव र छुवाछुतमा समेत जोडिन्छ।’

भेदभावका विषयमा बृहत बहस र छलफल निरन्तर हुनुपर्ने हमाल बताउँछन् । ‘यस विषयमा लामो समय बहस र छलफल हुन आवश्यक छ । एकै कार्यक्रमले सबै परिवर्तन हुन्छ भन्ने होइन,’ उनी भन्छन्, ‘हाम्रो अवस्था कहिले परिवर्तन हुन्छ भन्ने पनि टुंगो छैन । यो विषय उठिरहनुपर्छ, बहस भइरहनुपर्छ।’

कलाकारिता र पात्रले पार्ने प्रभाव

हमालले सामाजिक विषयवस्तुका चलचित्रलाई बढी महत्व दिए । पर्दामार्फत नै शोषित वर्गको आजाव मुखरित गरे । अन्यायलाई सहेनन् । के उनले गरेका ती पात्र अभिनयका लागि मात्रै थिए त ! उनी यो प्रश्नलाई ठाडै नकार्छन् ।  ‘सिनेमामा कोही कलाकारले कुनै पात्रको भूमिका निभाउँछ भने त्यो खाली अभिनय मात्रै होइन । कसैलाई लाग्ला, उसको काम अभिनय गर्ने हो, पात्र पायो गर्‍यो,’ उनी भन्छन्, ‘तर अभिनय गर्ने व्यक्ति साँच्चिकै अभिनेता हो भने आफूले गरेको भूमिकाले कहीँ न कहीँ छाप परिरहेको छ।’

उनले आफ्नै दृष्टान्त अघि सार्दै थपे, ‘मेरो फिल्म र मैले गरेका पात्र हेर्नुस् न । भैया, बहादुर, एक नम्बरको पाखे, गाउँले लगायत फिल्म गरेँ । त्यस्तो पात्रले मलाई एकदम छोएको छ । मैले दलित समुदायको भूमिका पनि निर्वाह गरेको छु । आरनमा बसेर अभियन गरेको छु।’

दलित समुदायमाथि गरिएका भेदभाद, हिंसा, सामाजिक मनोविज्ञान र कलाकारिताका बारे कुराकानी गरेपछि हमाललाई हामीले अन्तिम जिज्ञासा राख्यौँ– छुवाछुत विरुद्धको अभियानलाई प्रभावकारी बनाउन के गर्ने? 

गम्भीर मुद्रामा हमालले उत्तर फर्काए, ‘दलित समुदाय आर्थिक हिसाबले पनि कमजोर छन् । त्यसमाथि विदेभ छ । त्यसकारण उनीहरूले कानुनले दिएको अधिकार पाउने र पीडामा परेकाले न्याय पाउने अवस्था भयो भने छुवाछुत विरुद्धको अभियानले सकारात्मक दिशा लिनेछ।’

Published Date: Saturday, 26th September 2020 3:01:00 pm