बिहिबार, असोज १५, २०७७

काठमाडौं, भदौ २० : जीवनमा के मात्रै भोगेका छैनन्- त्यो भिषण युद्ध, व्यवस्था परिवर्तनको अठोट, पलपलमा जाग्ने निराशादेखि क्यारिकेचरका ‘बादशाह’सम्म।

परिस्थिति अनुसार विषय र पात्र छनोट, चोटिलो सटाएर गर्न माहिर छन्- कलाकार सुवोध गौतम । वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले उनीसँग भन्ने गरेका छन्– मैले आत्मसमर्पण गरेँ।

उनलाई धेरैले भन्ने गरेका छन्– ‘क्यारिकेचर किङ ।’

यस्तै उनका अरु पनि उपनाम छन् –एदुमे, सानो हजुर।

उनले अहिले कमाएको दर्शकको मायामा १२ वर्षको कठिन मेहनत जोडिएको छ। ‘मलाई दर्शक खोज्न १२ वर्ष लाग्यो, दर्शकले मलाई खोज्न थालेको १–२ वर्ष मात्रै हुँदैछ’, आफ्नो महेनत सम्झदै सुवोध भन्छन्।

सुवोधको संघर्षको कथा फिल्म जस्तै छ। कहिले उनले मुत्युको मुखबाट बचेर पुन:जन्म पाएका छन्, त कहिले स्टेजमा दर्शकको ताली पाउँदा खुशीले गदगद भएका छन्। सुवोधले ‘हर्के हवल्दार’ लगायतका टेलिसिरियलमा  अभिनय पनि गरेका छन्। त्यसकै परिणाम स्वरुप उनी ‘एदुमे’, ‘सानो हजुर’का रुपमा परिचित भए।

‘टेलिफिल्म मैले सुरुमा जवरजस्ती नै गरेँ। खेल्ने इच्छा थिएन,’ उनी भन्छन्, ‘म समाजको चेतनालाई प्रतिनिधित्व गर्छु। त्यसैले सामाजिक सचेतनाको काम गर्नुपर्छ। मेरो प्रस्तुतीमा सन्देश हुनुपर्छ, म खाली कलाकार मात्रै होइन है । म अरुले लेखेर दिएको संवाद बोल्ने होइन भन्ने बुझाइ थियो।’

तर अन्तत: त्यही अरुले लेखेर दिएको संवादले उनलाई एउटा कलाकारको उचाइ दियो ।

उनले ‘भद्रगोल’, ‘सक्किगोनी’मा ‘एदुमे’ र ‘जिरे खुर्सानी’मा ‘सानो हजुर’को भूमिकामा टेलिफिल्ममा अभिनय गरिसकेका छन्। टेलिफिल्ममा जमेका सुवोधले फिल्मको प्रस्ताव समेत आएको बताए । तर, आफू अहिले नै फिल्म गर्ने पक्षमा नरहेकाले प्रस्ताव स्वीकार गरेको बताए।

घर छोडेको त्यो दिन

०६१ असारको महिना थियो । गाउँमा रोपाई सुरु भइसकेको थियो । घरमा रोपाई गर्ने र असार १५ को दहि-चिउरा खाने सागा जुट्दै थियो। तर उनलाई समाज र राज्यको धेरै कुरा मन परेको थिएन । स्कुले विद्यार्थीबाट जनमुक्ति सेना बन्न सानो झोला बाकेर घरबाट निस्किए ।

घरबाट त निस्किए, तर कहाँ गएको खवर त गर्नु पर्‍यो । दुई दिन पछि बुवा–आमा र साथीहरुलाई पत्र लेखे– ‘म लडाइँको मोर्चामा जाँदैछु। फर्कन पनि सक्छु, नफर्कन पनि।’

‘संगठनको प्रभाव पर्‍यो। त्यसका विचार, नीति, कार्यक्रम र सिद्धान्त मन पर्‍यो। सोही कारण म जनयुद्धमा होमिएँ,’ झण्डै १५ वर्षअघिको मनमा क्रान्तिकारिता पलाएको क्षण सम्झिँदै सुवोधले भने ।

ओखलढुंगाको मोलुङ–१ मा जन्मिएका सुवोध ९ कक्षामा पढ्दा पढ्दै ०५४ सालतिर माओवादीको प्रचार गर्दै हिँड्न थालिसकेका थिए। ०६० सम्म आइपुग्दा उनको गाउँमा माओवादीको चहलपहल बाक्लै भइसकेको थियो।  

उनले ‘जनताको सत्ता’ स्थापित गर्ने उदेश्य सहित दर्जनौं पटक तत्कालिन शाही नेपाली सेनासँग मुडभेडको सामना गरे। ‘माओवादी र सेनाबीच भोजपुरको घोडेटार र सर्लाहीको मलंगवा भएको भिडन्तमा म पनि थिए’, विगत सम्झदै उनले काठमाडौं प्रेससँग भने, ‘लडाइको त्यो मैदानमा ज्यानको त केही माया नै हुँदैन थियो।’

घोडेटार युद्धमा दुई वटा टोली थियो। पूर्वतर्फ एउटा टोली र पश्चिमतर्फ अर्को। म पश्चिमतर्फको टोलीमा थिएँ। हाम्रो टोलीले साँझको ५ बजेर ४९ मिनेटमा फायर खोल्यो। सेनाले तत्कालै जवाफ फर्कायो।

‘हाम्रोबीचमा असमझदारीको अवस्था आयो। पूर्वतिरको समूहले एक बजेसम्म चुप लागेर बस्ने र त्यसपछि आक्रमण गर्ने भन्ने बुझेछ। हामी पश्चिमतिरका चाहिँ १ बजेसम्म लडाइँ नै सकेर फर्किने योजनामा थियौं,’ उनले लडाईका ती दिन सुनाए।

एक बजेसम्म लडाइँ फत्ते गर्ने योजनामा रहेका उनीहरुले धेरै साथी गुमाउनु पर्‍यो। युद्ध सकिँदासम्म करिब २५ जना मात्रै बाँकी थिए। उनका धेरै सहयोद्धा शहिद बनिसकेका थिए, कयौं घाइते ।

‘दुई वर्ष भूमिगत हुँदा यी दुई ठूला बाहेक थुप्रै युद्धका अनुभूति छ। अहिले सम्झिँदा पर्नुजन्म पाइएछ भने जस्तोे अनुभूति हुन्छ,’ उनी भन्छन्।  

२०६२–०६३ को जनआन्दोलन पछि मुलुकमा शान्ति स्थापना भयो। जनमुक्ति सेनालाई क्याटोनमेन्टमा राखियो। सुवोध पनि क्याटोनमेन्टमा बसे। जनमुक्ति सेनाको प्रमाणीकरण सुरु भयो । उमेर नपुगेकालाई ‘अयोग्य लडाकु’को रुपमा वर्गीकरण गरियो र घर फकाइयो।

प्रमाणिकरणमा परेका तर स्वेच्छिक अवकास लिएका लडाकुलाई सरकारले पाँच लाख रुपैयाँ दियो। सुवोध पनि सिन्धुलीमा रहेको दोस्रो डिभिजनबाट पहिलो प्रमाणीकरणमा परे। तर, देस्रो प्रमाणीकरणमा पर्न सकेनन्। त्यसपछि उनी सेना फर्मेसन छोडेर अपुरो पढाई पुरा गर्न बन्दुक छोडेर कलम समाउन घर फर्किए।

प्रमाणीकरणमा नपरेको र क्षतिपूर्ती नपाएको विषयमा उनले कहिलै गुनासो गरेनन्।

चार वर्षपछि फेरि गाउँ फर्किए सुवोध । ९ कक्षामा अधुरै छोडेको पढाइलाई पुन: त्यहीबाट जोडेर ०६४ मा एसएलसी पास गरे। १५ दिन ट्युसन पढेको भरमा एसएलसी फस्ट डिभिजनमा पास गरेका उनले अहिले राजनीतिशास्त्रमा एमए गरिसकेका छन्।  

एसएलसी पास गरेकै वर्ष भएको निर्वाचनमा उनी खुबै खटिए। त्यही चुनावको खटाइमा हो उनी भित्रको कलाकारिता बाहिर आएको। सानै उमेरदेखि अरुको बोली नक्कल गर्ने गर्थे उनी । उनले आफुभित्रकाे कला माओवादीको चुनावी कार्यक्रममा प्रस्तुत गर्न थाले। दर्जनौं कार्यक्रममा हाँस्यव्यंग्य कविता सुनाए। उनको क्षमतालाई माओवादीले चुनावी अभियानमा राम्रै प्रयोग गर्‍यो।

सुवोधको प्रतिभाबारे माओवादी नेता तथा कालाकार माइला लामाले सुने। उनी लामा ‘सामना परिवार’को नेतृत्वमा थिए। उनले सुवोधलाई भेटे र उनको क्षमताबाट प्रभावित बने। सुवोधलाई काठमाडौं ल्याउने र उनीभित्रको कलालाई निखार्ने व्यक्ति उनै लामा हुन्। लामापछि विप्लव नेतृत्वको माओवादीमा लागे। अहिले उनी जेलमा छन्।

०६५ जेठ १० गते काठमाडौंमा माओवादीले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो। माइला लामाको पहलमा सुवोधले त्यो कार्यक्रममा प्रस्तुति दिए। प्रज्ञा भवनमा भएको कार्यक्रममा भरिभराउ मानिस थिए। सुवोध आफ्नो प्रस्तुति दिन स्टेजमा चढे। स्टेज चढ्नुअघि कहिँकतै नदेखिएका सुवोधले कार्यक्रम सकिँदा आफ्नो क्रेज बनाइसकेका थिए।

उनले गरेको प्रचण्ड, डा. बाबुराम भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको क्यारिकेचरले कार्यक्रममा छुट्टै माहोल सिर्जना गर्‍यो। उनको प्रतिभाको खुबै प्रशंसा भयो। त्यही कार्यक्रम नै उनको कलाकारिता क्षेत्रमा प्रवेश गर्ने टर्निङ प्वाइन्ट बन्यो।

‘त्यो कार्यक्रममा मैले मान्छेलाई उधुमै हसाएँ। त्यसपछि मलाई जिल्ला फर्किन दिइएन, कलाकारको केन्द्रीय समूह (सामना परिवार) मा आवद्ध भएँ,’ उनले भने। समना परिवारमा आवद्ध भएपछि उनी पार्टीका अन्य संगठन तिर लागेनन्, विस्तारै कलाकारितमा अभ्यस्त बने।

नेताबाट कलाकार

काठमाडौंको त्यो कार्यक्रमले सुवोध विद्यार्थी राजनीतिबाट कलाकारितातर्फ मोडिए । अहिले उनी विभिन्न नेता तथा क्षेत्रका मानिसहरुको क्यारिकेचर गर्न सक्छन्।

गहकिलो विषयमा सटिक व्यंग्य प्रहार गर्न माहिर छन्, सुवोध । त्यसैले त उनलाई दर्शकले औधी रुचाएका छन् । कतिले उनलाई ‘क्यारिकेचर किङ’ नै मान्छन्। उनी थुपैैको क्यारिकेचर गर्न सक्छन्। कहाँ कसको क्यारिकेचर गर्दा सान्दर्भिक हुन्छ, त्यही मात्र गर्छन् उनी।

परिस्थिति हेरेर पात्र छनौट गर्छन् र प्रस्तुति दिन्छन्। ‘भकारीमा धान हुन्छ, एकै पटक खाने होइन। आवश्यकता अनुसार झिक्ने हो,’ उनी भन्छन्, ‘समाजले के चाहन्छ भने तसँग कति छ भनेर सबै कुरा एकैचोटी हेर्न खोज्छ, तर म त्यो चाहन्नँ।’

सुवोधले पार्टीमा सक्रिय रहँदा थुप्रै कार्यक्रममा प्रस्तुति दिए। तर, ती कार्यक्रममा कहिलै असन्तुलित प्रस्तुति दिएनन् । कसैको पक्षपोषण पनि गरेनन्। राजनीतिलाई एउटा र कलाकारितालाई अर्को कित्तामा राखेर अघि बढिरहे।

दिनभर नहाँसेका बाबुराम साँझ हाँसेपछि...

०७५ साल फागुन १ गते जनयुद्ध दिवसका दिन प्रज्ञा भवनमा भएको कार्यक्रममा सुवोधले प्रस्तुति दिए। जहाँ प्रचण्डसमेत उपस्थित थिए। प्रस्तुति दिएपछि सुवोधले प्रचण्डलाई सोधे- मैले गल्ती त गरिनँ नि ! त्योबेला प्रचण्डले उल्टै प्रशंसा गरेको सुवोध बताउँछन्।

डा. बाबुराम भट्टराईसँग उनले एकै दिनमा ६ वटा कार्यक्रममा प्रस्तुति गरेका छन्। थुप्रै क्यारिकेचर गर्दा पनि भट्टराई कुनै कार्यक्रममा नहाँसेको उनी बताउँछन्। सुवोधले भट्टराईसँगको त्यो क्षण सम्झिएँ, ‘दिनभर क्यारिकेचर गरियो, उहाँ हाँस्नु नै भएन। बेलुका घरमा पुगेपछि मात्रै भट्टराईको हाँस्नु भयो।’

गाडीबाट झरेर बिदा माग्नेबेलामा चित्रबहादुर केसीको त बडो विशिष्टै थियो भनेर भट्टराई गलल हाँसेको अहिले पनि सम्झन्छन्, सुवोध।

सुवोधले बामदेव गौतमदेखि झलनाथ खनालको समेत प्रशंसा पाएका छन्। तत्कालीन एमाले, माओवादीका नेतासँग स्टेजमा सहकार्य गरेका उनी कांग्रेसका नेताहरुसँग चाहिँ सहकार्यको मौका नमिलेको बताउँछन्।

‘विप्लव चाहिँ परैबाट आँखा जुध्यो भने पनि हाँस्नुहुन्छ। प्रचण्डका अघि मेरो अनुहार पर्‍यो भने पनि हास्नुहुन्छ,’ उनी भन्छन्, ‘सबैले मन पराउनुहुन्छ। हाँस्य व्यंग्यले सामाजको चेतना बोक्छ। राजनीतिक विषयवस्तुको चिरफार गर्न हाँस्यब्यंग्यलाई हतियारको रुपमा प्रयोग गरेका छौं।’

१२ वर्ष संघर्षका दौरान क्यारिकेचर निकै कठिन काम हो भन्ने सुवोधले अनुभव गरेका छन्। पात्रको बोली, लवज, हिँडाइ सबै बुझ्नुपर्ने भएकाले क्यारिकेचर कठिन काम भएको उनी ठान्छन्।

‘ध्यानी, तपस्वी, योगीहरुले किन ध्यान गर्छन् भने मभित्रको ‘म’ लाई चिन्नका लागि। तर, क्यारिकेचर गर्ने मान्छेले चाहिँ अर्काको विचारलाई पहिले बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘अरुको शरीरभित्र छिरेजस्तै गरी उसलाई बुझ्नुपर्छ। घोटिएर लाग्ने हो भने जसको पनि गर्न सकिन्छ।’

आवाजमा होस् वा हाउभाउमा ६० प्रतिशत चाहिँ नक्कल मिल्नुपर्ने उनको मान्यता छ। ‘मनोज दाइको हाउभाउमा मिल्छ, मेरो आवाज। उहाँले धेरै पटक भनिसक्नुभयो, आत्मसमपर्ण गरेँ। मैले त्यसो नभन्नोस् भनेको मान्नुहुन्न,’ उनले सुनाए।

उनले हालै गाइजात्रामा प्रख्यात पण्डित नारायणप्रसाद पोखरेल भेषमा प्रस्तुति दिए। त्यो प्रस्तुति उनी आफैँलाई भने मन परेको रहेनछ। तर, दर्शकले मन पराइदिँदा उनी मख्ख छन्। ‘मैले दर्शकलाई १२ वर्ष लगाएर खोजेँ। दर्शकले मलाई खोज्न थालेको १–२ वर्ष हुँदैछ,’ उनी भन्छन्, ‘मलाई यस्तो लाग्छ कि कुनै टिभी शोमा निरन्तर आइदिए हुन्थ्यो भन्ने दर्शकको भाव बुझेको छु। त्यही अनुसार योजना बनाएर काम गर्ने योजना छ।’

गत वर्षकै गाइजात्रामा सुमन कार्की र सुवोधले प्रस्तुति दिए। कार्यक्रमको नाम थियो– जनता हान्न चाहन्छन्। प्रस्तुति निकै चर्चित बन्यो। कार्यक्रम हेरेपछि ऋषि धमलाले सुवोधलाई भने– तपाईंहरुले मलाई धेरै सपोर्ट गर्नुभो। अहिले त जनता जान्न चाहन्छन् भन्दा पनि जनता हान्न चाहन्छन् पो हिट भो!

चित्रबहादुर केसीले भने, ‘म पनि गौतम हुँ नी’

जनमोर्चाका नेता चित्रबहादुर केसी इन्द्रेणी कार्यक्रममा जाँदा सुवोधले क्यारिकेचर गर्ने अनुमति मागेका थिए। केसीले अनुमति दिएपछि उनले क्यारिकेचर गरे। त्यसको केही दिनपछि सुवोधले केसीलाई टेम्पुबाट झर्दै गरेको भेटे। केसीलाई भेटेपछि सुवोधले भने– मैले तपाईंको नक्कल गरेँ नि !

केसीले जवाफ फर्काए– ‘राम्रो गर्नुभयो, मलाई हिट बनाइदिनुभयो। म पनि खत्री गौतम हुँ नि!

Published Date: Saturday, 5th September 2020 6:21:00 am